बिहीबारदेखि नेपालको पूर्वी क्षेत्र हुँदै सुरू भएको मनसुन आज मध्यक्षेत्रसम्म आइपुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार पूर्वी नेपाल हुँदै भित्रिएको मनसुन विस्तारै पश्चिम क्षेत्रसम्म फैलिने क्रममा रहेको छ।
आज १४: ४५ देखि भोलि १४:४५ सम्म वर्षाको पूर्वानुमान अनुसार देशभर हल्का वा मध्यम वर्षाको संभावना छ।
सो अनुसार ठूला नदीहरूमा बहाब केही बढ्ने र स-साना नदीहरूमा तीव्र बहाबको संभावना छ।
विशेषतःचितवन,नवलपरासी र आसपासका जिल्लाहरूमा सतर्क रहन महाशाखाले जनाएको छ।
आज देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पूर्वका धेरैजसो स्थानमा मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको छ।
महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ३० दशमलव ८ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ४० दशमलव शून्य डिग्री सेल्सियस मापन गरिएको छ ।