राष्ट्रिय मानवअधिकार आयोगले बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको अवस्था सुधार गर्न निर्देशन दिएको छ।
राष्ट्रिय मानवअधिकार आयोग बुटवलस्थित कार्यालयले अनुगमनपछि अस्पतालमा सुधार गर्न सकिने न्युनतम कुराहरुमा समेत ध्यान नदिइएको जनाएको छ।
आकस्मिक अनुगमनका क्रममा टोलीले अस्पताल पुगेर कार्यरत चिकित्सक तथा उपचारका लागि आएका बिरामीहरुसँग भेटघाट गरेको थियो। अस्पतालमा आवश्यक न्युनतम शर्तहरु समेत पालना नभएको मानवअधिकार आयोग बुटवल कार्यालय निर्देशक सम्झना शर्माले बताइन्।
अनुगमनका क्रममा बिरामी र कुरुवाका लागि शुद्ध पिउने पानीको ब्यवस्था नभएको, शौचालय अत्यन्त फोहर रहेको, फार्मेसीमा पर्याप्त औषधिहरु नभएको पाइएको आयोगले जनाएको छ।
यसका साथै टिकट काउन्टरमा जेष्ठ नागरिक र महिलाका लागि अलग अलग लाइन हुनु पर्नेमा नभएको, बिरामी भेट्ने समय निश्चित नभएको, बिरामीहरु भुइँमा र एउटै बेडमा २ जना बस्नु परेको, सिसिटिभी क्यामरा काम लाग्ने अवस्थामा नरहेको अनुगमन टोलीले जनाएको छ।
अनुगमनका क्रममा बिहान ८ः३० बजे खोल्नु पर्ने टिकट काउन्टर पौने नौ बजेसम्म पनि नखुल्ने गरेको अनुगमनका क्रममा पाइएको छ। लाइनमा बसेको काउण्टर नखोल्ने, लाइन नभएको काउन्टर खोलेर अलपत्र पार्ने गरिएको गुनासो बिरामीहरुले गरेका थिए।
यसका साथै बिरामी र आफन्तहरुले अस्पतालका कर्मचारी तथा नर्सिंङ कर्मचारीहरुले बिरामीमैत्री ब्यवहार नगर्ने गरेको गुनासो गरेका थिए।