सरोकारवालाहरूले सरकारले हचुवाको भरमा ‘क्लिन फिड’ लागू गर्न लागेको भन्दै उक्त विधेयक कार्यान्वयनमा ल्याए नेपालमा केबल व्यवसाय नै धराशयी हुने चिन्ता व्यक्त गरेका छन्।
मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै इन्टरनेट तथा डिजिटल टिभी समन्वय समितिका संयोजक दिनेश सुवेदीले राज्यको जिम्मेवारी आफूहरूले वहन गरिरहेको अवस्थामा सरसल्लाह र छलफल नै नगरी ‘क्लिन फिड’ लागू गर्न लागेको आरोप लगाए।
उनले भने,‘यही अवस्थामा यो विधेयक कार्यान्वयन भए सम्पूर्ण व्यवसाय नै धराशयी बन्छ। सरकारले हचुवाको भरमा कुनै गृहकार्य नै नगरी यो नीति ल्याएको हो। राष्ट्रिय प्रसारण ऐनमार्फत् आउनुपर्ने कुरा विज्ञापन ऐनमार्फत् ल्याउन खोजियो। यसो गर्नु भनेको भएको उद्योग नै धराशयी बनाउनु हो।’
उनले सरकारले भिजिट नेपाल २०२० मनाउन गैरहेको अवस्थामा धेरै भन्दा धेरै विदेशी च्यानलमार्फत् प्रचारप्रसार गर्नुपर्ने बेलामा उल्टै बन्द गराउन खोज्नु दुःखद् भएको पनि टिप्पणी गरे।
उनले विदेशी विज्ञापनको ठाउँमा नेपाली विज्ञापन बजाउने हो भने आफूहरूलाई कुनै आपत्ति नहुने पनि जिकिर गरे।
‘क्लिन फिड’ लागू भए नेपालका लोकल मिडिया पनि बन्द हुने अवस्था आउनसक्ने उनले खतरा औंल्याए।
उक्त विधेयकका बारेमा छलफल गर्नको लागि विभागीय मन्त्रीसँग भेट्न खोज्दा भेट नै नदिइएको पनि उनले गुनासो पोखे।
सुवेदीले थपे,‘मन्त्रीसँग दोहोरो कुरा गर्ने मन छ।’
सरकारले जतिसक्दो चाँडो आफूहरूसँग वार्ता तथा संवाद गर्नुपर्ने उनको भनाइ छ।
‘सरकारले के गर्न चाहेको हो भन्ने कुरा नै क्लियर छैन,’उनले प्रश्न गरे ।
डिस होमका प्रबन्ध निर्देशक सुदीप आचार्यले क्लिन फिड विश्वभरि छ भनेर हावा फैलाइएको बताए।
क्लिन फिड लागू भए नेपाली च्यानलमात्रै हेरेर आफूहरूले केवल सञ्चालन गर्न नसक्ने उनको दाबी छ।
उनले भने,‘यदि यो विधेयक कार्यान्वयन भए हामी साँचो लगेर सरकारलाई बुझाउँछौं।’
उनले समस्या समाधानको लागि संवाद गर्नुपर्ने सरकारसामु आग्रह गरे । आचार्यले आफूहरु क्लिन फिडको विरोधी नभएको जिकिर गरे।
उनले भने,‘यसरी हुँदैन, बरु सोलुशन खोजौं।’ व्यापार गर्न नसके आफूहरूले बन्द गर्ने पनि उनले चेतावनी दिए।
नेपाल केबल टेलिभिजन महासंघका अध्यक्ष सुधिर पराजुलीले विज्ञापन विधेयक अव्यवहारिक रहेको बताएका छन्।
उनले केबल टिभी प्रसारण गर्ने राष्ट्रिय नीति हुँदाहुँदै विज्ञापन ऐनअन्तर्गत राखेर विधेयक किन ल्याइयो भन्दै प्रश्न समेत गरे।
उनले भने,‘यदि यो विधेयक संसदबाट पारित भई ऐनका रूपमा आयो भने हाम्रो अर्बौंको लगानी डुब्छ र हामीले व्यवसाय बन्द गर्नुपर्छ।’
उनले क्लिन फिड लागू हुँदा सेवा दिन सकिन्छ या सकिँदैन भनेर परीक्षणस्वरूप आफूहरूले हिजो दिउँसो ३ बजेदेखि आज दिउँसो ३ बजेसम्म २४ घण्टा विदेशी च्यानल बन्द गरेको पनि स्पष्ट पारे।
उनले आफूहरूको बन्द कसैको विरोधमा नभएको पनि जिकिर गरे। उनले आफूहरूको ‘अपरेसन कष्ट’ नउठे बन्द गर्ने स्पष्ट पारे।
क्लिन फिड लागू भए नेपालका मिडिया नै मर्ने अवस्था रहेको उनले खतरा औंल्याए।
उनले संसारभरि अन्त कतै पनि क्लिन फिड लागू नभएको जिकिर गरे।
कार्यक्रममा सशुल्क च्यानल वितरकका ध्रुब शर्माले क्लिन फिड लागू गर्नेबारे सरकारको तयारी नपुगेको सुनाए। उनले आफूहरूले सरकारको विरोध नगरेको जिकिर गरे।
तर, हिजोदेखि आज दिउँसो ३ बजेसम्मे २४ घण्टाका लागि गरिएको विदेशी च्यानल बन्द रिहर्सल भएको उनको प्रतिक्रिया थियो।
उनले भने,‘यी च्यानलहरू बन्द हुँदा उपभोक्तामा कस्तो असर पर्छ भनेर हामीले फिडब्याकमात्रै लिएका हौं। अरु केही पनि होइन।’
कतिपय मिडियाले आफूहरूको उक्त रिहर्सललाई दादागिरीको संज्ञा दिए पनि वास्तविकतामा त्यस्तो नभएको उनको स्पष्टोक्ति थियो ।
उनले भने,‘क्लिन फिड लागू नै गर्नु हुँदैन भनेर हामीले भनेका होइनौं। तर, छलफल गरौं ।’