मंगलबार बिहान, साढे दस बजे।
चरक्क घाम लागिसकेको छ। कीर्तिपुर छिर्ने नयाँबजार गेटैमा सधैंजस्तो आज सार्वजनिक गाडी छैनन्। यात्रुको भिडमा सहचालकले ‘बल्खु, कालिमाटी, रत्नपार्क’ भनेर चिच्याएको पनि सुनिएको छैन।
मान्छेहरू गेटको छायामा उभिएर छटपटिँदै छन्। गाडी आउला कि भनेर आँखा तन्काइरहेका छन्। तर गाडी आउने सम्भावना एकदमै कम छ- आज विप्लव माओवादीले बन्द भनेको छ।
निजी सवारीसाधन निर्वाध हुँइकिए पनि सार्वजनिक सवारी कम छन्। यस्तैमा एउटा नीलो रङको पल्सर मोटरसाइकल विस्तारै मान्छेको भिड छेउमा रोकियो। खैरो ज्याकेट र नीलो जिन्स प्यान्ट लगाएका युवकले मोटरसाइकलको ह्यान्डलबाट आधा पञ्जा लगाएका हात निकाले।
हेलमेटको भाइजर विस्तारै माथि उठाए र भिडतिर हेर्दै सोधे, 'बल्खु जाने कोही छ?' भिडका एक युवाले भने, 'म बल्खु नै पुग्ने हो, बसौं?' विशाल अधिकारीलाई यसरी लिफ्ट दिएर सहयोग गरिदिने निरजमान सिंह हुन्। उनी र्कीतिपुरबाट सानेपा जाँदै थिए। बल्खु पुग्नैपर्थ्यो।
एक्लै जानुभन्दा अप्ठ्यारोमा परेकालाई सहयोग होस् भनेर लिफ्ट दिएको उनले बताए। विशालले यो चर्को घाममा लिफ्ट पाउँदा राहत भएको बताए। 'गाडी कुरेको आधा घन्टाभन्दा धेरै भइसक्यो। उहाँको सहयोग पाइयो,' उनको बोलीमै खुसी थियो। विशालले पहिलेपहिले पनि लिफ्ट मागेको अनुभव छ। तर, आज नमागेरै पाएको बताए। पछिल्लो समय लिफ्ट दिने चलन बढेको र मागेको बेला सजिलै पाइने पनि उनले बताए।
बन्दका कारण आफ्नो गन्तव्यमा जान नसकेकाहरूलाई कसैकसैले यसैगरी सहयोग गरेको देखियो। मान्छेहरू गाडी नपाएर समस्यामा परेका बेला यो चलनले धेरै राहत दिएको छ। निरज मात्रै होइन, र्कीतिपुरबाट बल्खु जाँदै गरेका मोहित महर्जन पनि स्कुटरसहित नयाँबजार गेटैमा रोकिए।
उनले पनि लिफ्ट दिए। यसरी नचिनेका मान्छेलाई लिफ्ट दिने अभ्यास पहिले धेरै थिएन। २०७२ सालमा भारतीय नाकाबन्दीले देशमा पेट्रोलियम पदार्थ अभाव भयो। सवारीसाधन एकदमै कम कुद्न थाले। सवारीसाधन नपाएर नियमित कामकाज नै बिथोलिएको थियो।
त्यसपछि फैलिएको थियो, 'लिफ्ट कल्चर।' नाकाबन्दीको बेलामा सबैले एकअर्कालाई सहयोग गरौं भन्दै निजी सवारीमा आउँदा-जाँदा मान्छेहरूले लिफ्ट दिन थाले। मोटरसाइकल, स्कुटरमा मात्र नभइ निजी कारमा समेत लिफ्ट दिइन्थ्यो।
कतिपयले आफू जाने बेलामा कारको अगाडि आफू पुग्ने ठाउँसम्म लेखेर टाँसेको पनि देखिन्थ्यो। लिफ्ट माग्नेहरूले पनि आफू जानुपर्ने ठाउँको नाम लेखेको प्लेकार्ड बोकेका हुन्थे। यसले धेरैलाई सहयोग भयो। नाकाबन्दी सकियो तर लिफ्ट दिने-लिने चलन सकिएन, बरू स्थापित भयो।
तर, सामान्य अवस्थामा मागेपछि मात्रै लिफ्ट पाइन्छ। बन्दजस्ता कठिनाइमा भने सवारी चालकहरू आफैंले पनि लिफ्ट दिन थालेका छन्। भर्खरै कीर्तिपुरका निरज र मोहितले यस्तै गरेका थिए। निरजले लिफ्ट दिएका विशाललाई लिएर हुँइकिनै लागेका बेला हामीले सोध्यौं, 'तपाईं आफूले कहिल्यै लिफ्ट माग्नु परेको छ?' 'एक/दुईपटक मागेको त थिएँ। अहिलेसम्म कसैले दिएको भने छैन,' उनले हाँस्दै भने।