दोलखा शैलुङ ८ का २४ वर्षीय हरि बहादुर कार्कीलाई कल्पना बस्नेत भुजेलले संगीता बस्नेत नामको फेसबुक आइडी दिई परिचय गराइन्। संगीताले हरिलाई मन पराउने गरेको कुरा कल्पनाले बताइन्।
कल्पना आफैंले संगीता नामको फेक फेसबुक आइडी बनाएर चलाउने गरेकी थिइन्। मन पराउने संगीताको नम्वर पनि कल्पनाले दिइन्। संगीताले हरिलाई असाध्यै मन पराएको भन्दै कल्पनाले आश्वस्त पार्दैै गइन्।
पछि कल्पनाले हरिलाई अर्को नम्वरबाट फोन गरी ‘तपाईलाई माया गर्ने केटी दुर्घटनामा परेर अस्पतालमा उपचार भईरहेको छ, उपचार गर्नको लागि रकम पठाई दिनुहोस्’ भनिन्। पटक पटक गरी ४ लाख ५५ हजार रुपैयाँ पठाउन लगाइन्। रकम पठाइसकेपछि कल्पनाले संगीताको उपचारका क्रममा भारतमा मृत्यु भएको बताइन्।
यस्तो व्यहोराबाट पीडित हरी बहादुर कार्कीले प्रहरी महाशाखामा जाहेरी दरखास्त दिएका थिए। महाशाखाबाट खटिएको टोलीले कल्पनालाई खोजतलास गर्दै जाँदा असार ८ गते काठमाडौंको टेकुमा फेला पार्यो।
आफूले प्रयोग गर्ने सिमकार्डयुक्त मोवाईल–२ थान सहित कल्पना पक्राउ परिन्। ठगी सम्बन्धी कसुरमा आबश्यक कारबाहीको लागि कल्पनालाई प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।