कपिलवस्तु, रुपन्देही, नवलपरासी (पश्चिम) र नवलपरासी (पूर्व)मा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनाको विस्तृत विवरण यसप्रकार छ।
कपिलवस्तु: शिवराज नगरपालिका-५ समिति चोकस्थित सडकमा बा१६च २२९६ नम्बरको कार र लु५प ३७४८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा बिहीबार गम्भीर घाइते भएका मोटरसाइकलमा सवार ४८ वर्षीय रामपुजारी तेलीको शिवराज अस्पताल बहादुरगंजमा उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही स्थान बस्ने ३५ वर्षीय विक्रम मुराउलाई थप उपचारको लागि मेर्सी सिटी अस्पताल बुटवल पठाइएको छ।
दुवै सवारीसाधन र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यसैगरी, कपिलवस्तु शिवराज नगरपालिका-५ बालापुरमोडस्थित सडकमा लु.२ ख ३१३६ नम्बरको बस र लु.१ च ३७३९ नम्बरको मारुती कार एकआपसमा ठोक्किएर बिहीबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका कार चालक बुद्धभूमि नगरपालिका-७ बस्ने ३६ वर्षीय स्वतन्त्र प्रताप सिंहको चौराह अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रुपन्देही: रोहिणी गाउँपालिका-४ छिपागढस्थित सडकमा बिहीबार साँझ लु१ख ७५२७ नम्बरको ट्याङ्करमा ठोक्किएर अनियन्त्रित भएको लु२५प ४९३० नम्बरको मोटरसाइकल पुन: लु३त ४२८७ नम्बरको अर्को ट्याक्टरमा ठोक्किँदा भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही स्थान बस्ने २४ वर्षीय पम्पु चौधरीको उपचारको लागि भीम अस्पताल भैरहवा लैजाने क्रममा बाटोमै मृत्यु भएको छ। ट्याङ्करका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने ट्याक्टर चालक फरार छन्।
नवलपरासी (पश्चिम): सुनवल नगरपालिका-१२ भुमहीस्थित सडकमा चेकिङमा रोकिराखेको लु२ख ३१२१ नम्बरको ट्रकमा बा१६च २७५१ नम्बरको कार ठोक्किएर बिहीबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका कारमा सवार तिलोत्तमा नगरपालिका-३ बस्ने ४९ वर्षीय गोकर्ण पौडेलको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका कार चालक रुपन्देही बुटवल उपमहानगरपालिका-४ लक्ष्मीनगर बस्ने ३१ वर्षीय सुरेश पोख्रेलको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ।
नवलपरासी (पूर्व): कावासोती नगरपालिका-१४ थारुडण्डास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनले विपरीत दिशाबाट आइरहेको साइकललाई बिहीबार बेलुका ठक्कर दिँदा गम्भीर घाइते भएका साइकलयात्री सोही स्थानका ५६ वर्षीय तुलसीराम थनेतको मध्यबिन्दु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।