प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानबाट पीडितको तत्काल उद्धार गरी राहत र उपचारमा जुट्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन्।
शुक्रबार सिंहदरबारमा बसेको मन्त्रालयहरुको समिक्षात्मक बैठकमा प्रधानमन्त्री ओलीले बाढी, पहिरो र डुवानमा परेकाहरुको उद्धारमा जुटन मातहतका सबै निकायलाई निर्देशन दिए।
सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सर्लाहीको मलंगवाको डुबान समस्या भारत सरकारसँग कुरा गरेर प्रधानमन्त्री ओलीले खुलाएको बताए। त्यसैगरी प्रधानमन्त्री ओलीले रौतहटको डुबान समस्या समाधान गर्न पनि भारत सरकारसँग कुरा गरिसकेको बास्कोटाले बताए।
मन्त्री बास्कोटाले डुबान समस्याबाट सतर्कता अपनाउन आवश्यक सूचना प्रणालीको व्यवस्था गरिएको पनि बताए। बिहीबार साँझबाट सुरु भएको अविरल वर्षासँगै देशका विभिन्न भाग बाढी पहिरो र डुबानको चपेटामा परेका छन्।
मन्त्री बास्कोटाले राजधानी काठमाडौंसहित पर्सा, भोजपुर, रामेछाप, सिन्धुली, खोटाङ, काभ्रे, सर्लाही, रौतहटलगायतका जिल्ला डुबान, बाढी र पहिरोको चपेटामा परेको बताए।