भारतले दशगजा क्षेत्रमा बाँध खोलेपछि रौतहट गौरमा संकलन भएको पानीले निकास पाएको छ।
गृहसचिव प्रेमकुमार राईले भारतले दशगजामा बाँध खोलेपछि गौर बजारमा पानीको सतह घट्न थालेको जानकारी दिए।
‘भारतसँग समन्वय गरी बाँध खुलाइएको छ। अब गौरमा पानीको सतह घट्छ,’ शनिबार गृहमन्त्रालयमा बसेको विपद व्यवस्थापन कार्यकारी समितिको बैठकपछि राईले भने, ‘पाँच फिटभन्दा धेरै पानी जम्मा भएको थियो अहिले घट्न थालिसक्यो।’
उनले बाढी, पहिरो पीडितलाई प्रदेश सरकारसँग समन्वय गरी स्थानीय सरकारले राहत बाँड्ने जानकारी दिए।
बाढी, पहिरोमा परेकाको उद्धारका लागि गृह मन्त्रालयले हेलिकप्टर पठाएको उनको भनाइ छ।
‘जनकपुरमा उद्धारका लागि गएको हेलिकप्टर मौसम खराब हुँदा राजधानी नै फर्केको छ,’ उनले भने, ‘उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राखेका छौं।’
बाढी पहिरोमा परी देशभर अहिलेसम्म २६ जनाको मृत्यु भएको उनले बताए। ‘२६ जनाको मृत्यु भएको जानकारी आएको छ। केही मानिस बेपत्ता छन् खोजी कार्य जारी छ,’ उनले भने, ‘बाढी पहिरोमा परेर चार सय ३५ परिवारका एक हजार पाँच सय जना विस्थापित भएका छन्।’
उनका अनुसार बाढी, पहिरोले पृथ्वीराजमार्ग, म्याग्दी, मनाङ, मुस्ताङ, ओखलढुंगा लगायत ठाउँमा सडक अवरूद्ध भएकोले तत्काल खुलाउन गृहमन्त्री रामबहादुर थापाले निर्देशन दिएका छन्।
सिरहाको कमला नदीमा तटबन्ध भत्केको, सर्लाहीमा बागमतीको बाँध फुटेर बस्तीमा भल पसेको, बकैया नदीको बाँध फुटेर रौतहटका केही बस्ती डुबेको उनले जानकारी दिए।
बाढीपहिरोमा परी मर्ने संख्या २७ पुग्यो, १५ अझै बेपत्ता
रौतहटका सिडिओ भन्छन् -पानी घाँटीसम्म आइसक्यो, भारतीय पक्षले बाँध खोलिदिएन