अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति बलभद्र प्रसाद दासलाई ४ करोड ८ लाख भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको छ।
सोमबार अख्तियारले उनीसहित अन्य ८ जनालाई भ्रष्टाचार मुद्दा लगाएको छ। विभिन्न मितिमा भएका वस्तु तथा सेवाको खरिद प्रकृयामा भ्रष्टाचार गरी प्रतिष्ठानलाई हानी पुर्याएको अभियोग अख्तियारले उनीहरूमाथि लगाएको छ।
तत्कालीन अस्पतालका निर्देशक अरविन्द कुमार सिन्हाले तीन करोड ७५ लाख ३० हजार ६ सय १९, तत्कालीन रजिष्टार नन्दकुमार थापाले एक करोड ९६ लाख नौ हजार ८ सय ८० र रजिष्टार तुलबहादुर श्रेष्ठले ५६ लाख ७७ हजार चार सय पाँच रूपैयाँ भ्रष्टाचार गरेको अख्तियारको आरोप छ।
प्रतिष्ठानका लेखा प्रमुख दिनेश राजदाहालले २ करोड ३४ लाख र डेपुटी मेनेजर अमित श्रीवास्तवले १ करोड ७४ लाख भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ।
त्यसैगरी प्रतिष्ठानलाई सामान उपलब्ध गराउने वायोमेड इन्टरनेसनल प्रालिका प्रोप्राइटर चेतन अग्रवाल र उपकरण सप्लायर्स सर्जिकेम डिस्टिव्युटर्सका प्रोपराइटर उमेश अग्रवाललाई पनि अख्तियारले भ्रष्टाचार मुद्दा लगाएको छ। चेतनले १ करोड ४ लाख र उमेशले ६० लाख भ्रष्टाचार गरेको अख्तियारको दावी छ।