मेची राजमार्गअन्तर्गत राँके–फिदिम सडकखण्डमा पहिरो झरेपछि राजमार्ग अवरूद्ध भएको छ। फाल्गुनन्द गाउँपालिका–३ को पाँग्रेभिरमा बुधबार राति वर्षासँगै पहिरो झरेपछि राजमार्ग अवरूद्ध भएको जिल्ला ट्राफिक कार्यालय पाँचथरका प्रमुख जनक तिम्सिनाले बताए।
सडक माथिबाट ठूलो पहिरो झरेपछि यातायात आवतजावतमा अवरूद्ध भएको उनले जानकारी दिए।
अहिले पहिरो पन्छाउने काम भइरहेको र पहिरो पन्छाउन आज दिनभर लाग्ने उनको भनाइ छ।
यो राजमार्गबाट पाँचथरको सदरमुकाम फिदिम हुँदै ताप्लेजुङ र तेह्रथुमको आठराई क्षेत्रमा सवारी सञ्चालन हुने गर्दछ।
पहिरोले राजमार्ग अवरूद्ध भएपछि ताप्लेजुङ, पाँचथर र तेह्रथुमको आठराई क्षेत्रबाट झापातर्फ छुटेका र यसतर्फ आउँदै गरेका सवारी साधनहरू बीच बाटोमै रोकिएका तिम्सिनाको भनाइ छ।