नेपालका दुई वर्षभन्दा कम उमेरका केटाकेटीले ग्रहण गर्ने कुल क्यालोरीमध्ये एकचौथाइ हिस्सा पत्रु खानेकुरा (जंक फुड) बाट प्राप्त गरिरहेको अध्ययनले देखाएको छ।
एउटा जर्नलमा प्रकाशित रिपोर्टलाई आधार बनाएर बेलायती अखबार ‘गार्डियन’ ले बिहीबार यो समाचार प्रकाशित गरेको छ। यसले प्याकेटका 'जंक' खानेकुराको प्रभाव हाम्रो समाजमा कसरी व्यापक हुँदै गएको छ भन्ने चेतावनी पनि दिएको छ। यो अध्ययनले हाम्रा शिशु उमेरका केटाकेटीले खाने खानेकुरा कम पोषणयुक्त र बढी प्रचारमुखी हुँदै गएको देखाउँछ।
हाम्रा भान्छामै उपलब्ध भिटामिन, खनिज र अन्य पौष्टिक तत्वले भरिएका खानेकुरा छाडेर बिस्कुट, कुरकुरे, तयारी चाउचाउ र गुलियो मिसाइएका पेयहरू बढी मात्रामा खुवाउँदा केटाकेटीको हुर्काइमै असर पर्ने अध्ययनकर्ताहरूको ठहर छ।
पौष्टिकतासम्बन्धी जानकारी दिने जर्नल ‘न्यूट्रिसन’ मा यो अध्ययन प्रकाशित भएको थियो। पत्रु खानेकुराहरूले कसरी संसारभरि बालबालिकामा अस्वाभाविक मोटोपन बढाउनुका साथै शारीरिक विकासमा असर पारिरहेको विस्तृत विवरण उक्त रिपोर्टमा छापिएको थियो।
काठमाडौं उपत्यकाभित्र १२ देखि २३ महिनाका ७ सय ४५ केटाकेटीको परिवारमा गरिएको अध्ययनले यो तथ्यांक देखाएको हो। कम आय भएका मुलुकमा यस्ता खानेकुरा केटाकेटीलाई खुवाउँदा उनीहरूको पौष्टिकतामा के कस्तो प्रभाव पर्छ भन्ने जाँच्न काठमाडौंमा यो अध्ययन गरिएको थियो। यसका अनुसन्धाता विश्वभर फैलिएको स्वास्थ्य संगठन ‘हेलन केलर इन्टरनेसनल’सँग आबद्ध छन्।
उनीहरूले अध्ययन गरेका सम्पूर्ण बालबालिकाले यस्ता पत्रु खाना खाने गरेको पाइएको थियो। त्यसैगरी कसैकसैको खपत मात्रा अत्यधिक भेटिएको थियो। शरीरलाई चाहिने क्यालोरीको आधा हिस्सा यस्ता अत्यधिक गुलियो, नुनिलो र चिल्लो खानेकुराबाट प्राप्त गरेका केटाकेटी उस्तै उमेरका थोरै पत्रु खानेकुरा खाने केटाकेटीका तुलनामा होचा पाइएका थिए। केटाकेटीको शरीर विकासमा आवश्यक प्रोटिन, क्याल्सियम, आइरन, भिटामिन ए र जिंकको मात्रा त्यस्ता कम पोषणयुक्त खानेकुरा ग्रहण गरिरहेका केटाकेटीमा थोरै पाइएको थियो।
‘अध्येता एवं नीति निर्माताहरूका निम्ति यो रिपोर्टले खतराको घन्टी बजाउने काम गर्नेछ भनेर हामीले आशा गरेका छौं,’ एसेसमेन्ट एन्ड रिसर्च अन चाइल्ड फिडिङ प्रोजेक्टकी प्रमुख अनुसन्धाता डा. एलिसा प्रिस भन्छिन्, ‘यस्ता पाकेटबन्द खानेकुराले विशेषगरी पौष्टिक तत्वको कमी बेहोर्ने गरिब समाजका केटाकेटीको स्वास्थ्य र हुर्काइमा के कस्तो असर परिरहेको छ भनेर थप अनुसन्धान हुनु जरुरी देखिन्छ।’
प्रिसका अनुसार यस्ता खानेकुरालाई चट्किलो बनाउन आम रूपमै बढी गुलियो र नुन प्रयोग गरिन्छ भने अर्कातर्फ खानेकुरामा हुनुपर्ने सूक्ष्म पोषक तत्वहरू यसमा असाध्यै कम हुने गर्छन्। यस किसिमका खानेकुराको प्रचलन पछिल्लो समय विश्वभरि नै व्यापक बन्दै गइरहेको छ।
‘मानिसमा अस्वाभाविक मोटोपनका निम्ति यस्ता पत्रु वा अत्यधिक प्रशोधित खानेकुराको भूमिकामाथि विश्वभर स्वास्थ्य क्षेत्रमा काम गरिरहेकाहरूले चासो बढाउदै लगेका छन्,’ प्रिस भन्छिन्, ‘यो अध्ययनले शिशु उमेरमै यी खानेकुराले उनीहरूको शरीरलाई चाहिने पौष्टिक तत्वसमेत पुग्न नदिइरहेको देखाएको छ।’
सामान्य सिटामोलसमेत नपाइने नेपालका अतिदुर्गम गाउँबस्तीमा समेत यतिबेला यस्ता पत्रु खानेकुरा सजिलै भेटिने गरेका छन्। तीमध्ये केही नेपालमै बनेका हुन्छन् भने केही अन्तर्राष्ट्रिय कम्पनीले उत्पादन गरेका पाकेटबन्द खानेकुराका रूपमा भेटिन्छन्।
‘आकर्षक विज्ञापनदेखि लिएर पसलका खापासम्म यस्ता खानेकुरा बढो सजाएर राखिएका हुन्छन्,’ प्रिस भन्छिन्, ‘पकाएर खुवाइरहनुभन्दा बेलायत र अमेरिकामा बनेका यस्ता सजिला विकल्प बोकेका प्याकेट देखेरै बा र आमाहरू हुरुक्क हुन्छन् र केटाकेटीले सहजै यस्ता गुलिया र नुनिला प्याकेट भेटिरहेका छन्।’
अध्ययन क्रममा केटाकेटीको हेरचाह गर्नेका कुरा पनि समेटिएको छ, जसमा उनीहरूले ती खानेकुरा भर्खरका केटाकेटीलाई उपयुक्त नहुने उल्लेख गरेका छन्। उनीहरूले अंग्रेजीमै ‘जंक फुड’ भन्न पनि जानेका छन्। तर, सजिलो र सुविधाले गर्दा नै यस्ता खानेकुरा प्रचलनमा आइरहेको उनीहरू स्वीकार्छन्। त्यसैगरी केटाकेटीलाई प्याकेट बोकेर खानमै सजिलो र रमाइलो लाग्ने पनि उनीहरूले बताए।
स्वास्थ्य निम्ति अनुपयुक्त खानेकुराबाट शिशुहरूको शरीरले एकचौथाइ पोषण तत्व ग्रहण गरिरहेको रिपोर्टले आफूलाई अत्यन्त चकित र दुःखी बनाएको प्रिस सुनाउछिन्।
काठमाडौंमा केवल अवलोकनका आधारमा यो रिपोर्ट तयार भएकाले यसले कारण र असरबारे विस्तारमा कुरा खोल्दैन। त्यसैले रिपोर्ट तयार पार्नेहरूले यसबाट शिशुहरूको हुर्काइमा पर्ने असरबारे थप अध्ययन हुनुपर्ने औंल्याएका छन्।
‘केटाकेटीमा यस्ता अस्वस्थकर खानेकुराको प्रचलन भयावह हिसाबले बढिरहेको छरपष्ट देखिन्छ,’ रिपोर्ट लेखनमै संलग्न डा. अतुल उपाध्याय भन्छन्, ‘स-साना बालबालिकालाई यस्ता प्याकेटका खानेकुरा रोक्नतर्फ रणनीति नै तय गर्नुका साथै हाम्रा भान्छामै उपलब्ध पौष्टिक खानेकुरातर्फ जोड दिन व्यापक रूपले लागिपर्नु जरुरी छ।’