अबैध रुपमा लुकाईछिपाई ल्याएको करिब २ किलो सुनसहित एक जनालाई महानगरीय प्रहरी प्रभाग नागढुंगाले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका वडा नं ५ स्याफ्रोबेशी घर भएका १७ वर्षीय भिमबहादुर तामाङ छन्। उनलाई चन्द्रागिरि नगरपालिका २ नागढुंगामा प्रहरीले पक्राउ गरेको हो।
महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख कुमार बिक्रम थापाका अनुसार बिशेष सुचनाको आधारमा भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख ६५२ नम्बरको यात्रु बाहक बसमा गोप्य सूचनाको आधारमा चेक जाँच गर्दा दुई केजी सुन सहित पक्राउ गरिएको हो।
प्रहरी प्रमुख थापाका अनुसार तामाङलाई चेक जाँच गर्दा कम्बरमा बाँधी ६ सेमि लम्बाई र ११ सेमि मादल जस्तो गोलाई भएको सुन सहित नियन्त्रणमा लिइएको हो। उनको अहिले अनुसन्धान भईरहेको छ ।
तामाङ रसुवा हुँदै सुन कम्बरमा बोकी गल्छीसम्म आएका थिए। गल्छीबाट उनी काठमाडौं आउँदै गरेको भैरहवाको गाडी चढेका थिए। प्रहरीले सुन सहित थप अनुसन्धानका लागि राजस्व अनुसन्धान पठाएको छ।