भारतले चन्द्रमामा यान पठाएको छ। चन्द्रयान-२ नाम दिइएको उक्त यान भारतीय समयअनुसार सोमबार दिउँसो २.४३ मा चेन्नईनजिकैको सिरहारीकोट अन्तरिक्ष केन्द्रबाट लञ्च गरिएको हो।
यसअघि असार ३० मा यान छोड्ने तयारी भए पनि अन्तिम समयमा प्राविधिक समस्या आएको भन्दै रोकिएको थियो।
आज गएको यान चन्द्रमाको दक्षिण ध्रुवमा अवतरण हुने बताइएको छ। चन्द्रयान-२ अवतरण हुने ठाउँमा अहिलेसम्म कुनै यान पुगेका थिएनन्। ४८ दिनपछि चन्द्रयान-२ चन्द्रमाको सतहमा पुग्नेछ। पृथ्वीदेखि चन्द्रमाको दुरी ३ लाख ८४ हजार किलोमिटर छ।
चन्द्रयान-२ का लागि भारतले १४.१ करोड डलर लगानी गरेको छ। यसअघि अमेरिका, रूस र चीनले मात्र चन्द्रमाको सतहमा आफ्ना यान अवतरण गराएका छन्।
भारतले यसअघि सन् २००८ मा चन्द्रयान-१ पठाएको थियो। सतहमा अवतरण नभइकनै उक्त यानले चन्द्रमामा पानीको खोज गरेको थियो।
सन् १९६० को दशकदेखि भारतले अन्तरिक्ष कार्यक्रम सुरू गरेको थियो। पछिल्लो समय प्रधानमन्त्री नरेन्द्र मोदीले यो कार्यक्रममा विशेष जोड दिएका छन्।