प्रदेश ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यातायात व्यवस्था कार्यालयका दुई इकाईमा मंगलबार छड्के अनुगमन गरेको छ।
अनुगमनका क्रममा २१ जना कर्मचारी अनुपस्थित भएको पाइएको कार्यालयले जनाएको छ। यातायात व्यवस्था कार्यालय सवारी शाखा मणिग्राममा गरिएको छड्के अनुगमनमा १० जना कर्मचारी अनुपस्थित रहेको पाइएको थियो।
३२ जनाको दरबन्दी रहेको कार्यालयमा कार्यालय प्रमुखसहित १० जना कर्मचारी अनुपस्थित भेटिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।
त्यसैगरी, लाइसेन्स शाखा बुटवलमा पनि ११ जना कर्मचारी अनुपस्थित भेटिएका थिए।
२९ जना कर्मचारीको दरबन्दी भएकोमा १८ जना कर्मचारीमात्र उपस्थित भएको पाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता बसन्त अधिकारीले जानकारी दिए।
अनुगमनका लागि दुई कार्यालयमा मुख्यमन्त्री कार्यालयले दुई टोली खटाएको थियो। अनुपस्थित भएका कर्मचारीहरू कार्यालयमा उपस्थित हुनुपर्ने समयभन्दा ढिला उपस्थित भएको पाइएको थियो।
ती सबैलाई स्पष्टिकरण सोधिने र स्पष्टिकरण प्राप्त भएपछि अरु प्रक्रिया अघि बढाइने प्रवक्ता अधिकारीले जानकारी दिए।