ललितपुरको नख्खुस्थित कारागारमा दुई कैदीबीच हानाहान हुँदा एक जनाको मृत्यु भएको छ।
शुक्रबार दिउँसो भएको हानाहानमा परी कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका बर्दियाका पूर्णबहादुर राजीको मृत्यु भएको जेलर वेदप्रकाश अर्यालले बताए।
कर्तव्य ज्यान मुद्दामै जेल सजाय भोगिरहेका सर्लाहीका पवनकुमार महतोले ढुंगा प्रहार गर्दा राजीको मृत्यु भएको हो।
दुई जनाबीच जेलभित्रै झगडा भएको थियो र त्यसक्रममा महतोले राजीको टाउकोमा ढुंगा प्रहार गरेका थिए।
उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो। अस्पताल पुर्याउन नपाउँदै उनको मृत्यु भएको थियो।