जुम्ला सदरमुकाम खलंगा बजारको अन्धकार हटाउन डिजेल प्लान्ट जडान गरिने भएको छ।
दुई साताभन्दा बढी समयदेखि पूर्णरुपमा अध्यारो रहेको खलंगा बजारलाई उज्यालो पार्न सांसद विकास कोषको लगानीमा डिजेल प्लान्ट जडान गरिने भएको हो।
भारतीय दूतावासको सहयोगमा निर्माणाधीन मेशिन जडान नहुँदै बिग्रिएपछि सदरमुकाम उज्यालो गर्न डिजेल प्लान्ट खरिद गरिएको साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर बुढ्थापाले जानकारी दिए।
नेपालगञ्जदेखि चार दिन लगाएर ज्याक्सन कम्पनीको डिजेल प्लान्ट जुम्ला ल्याइएको छ। प्रतिनिधिसभा सदस्य गजेन्द्र महत (कर्माको) पहलमा खलंगा बजारको अँध्यारो हटाउनका लागि डिजेल प्लान्ट ल्याइएको हो।
गत असार ३१ गतेदेखि खलंगा बजार अन्धकारमय भएको थियो। बजारलाई उज्यालो पार्नका लागि रु २४ लाख ७३ हजारको लगानीमा डिजेल प्लान्ट ल्याइएको सासंद महतले बताए।
२०० केभीको डिजेल प्लान्टको जेनेरेटरबाट १६० किलोवाट बिजुली उत्पादन हुनेछ। जुम्लामा मनाइने जात्रा र अरु ठूला पर्वलाई मध्यनजर गर्दे डिजेल प्लान्ट ल्याइएको महतको भनाइ छ।
भारतीय दूतावासको सहयोगमा जडान गरिएका नयाँ जेनेरेटरबाट बिजुली सप्लाई हुन नसकेपछि बिजुलीको वैकल्पिक व्यवस्था गरिएको हो।
दुई महिना डिजेल प्लान्ट सञ्चालन भएमा झण्डै रु ५० लाख खर्च हुने अनुमान गरिएको छ। रासस