खुला प्रतिस्पर्धाबाट चयन गर्न लागिएको चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि आवेदन दिएकामध्ये ९ जनाको स्वीकृत भएको छ।
उपाध्यक्षको नाम सिफारिस गर्न गठन भएको सिफारिस समितिले पारशकुमार पोखरेल, निलमणि उपाध्याय, तरूण पौडेल, यहुनचन्द्र सिवाकोटी, रमेशप्रसाद सिंह, राजेन्द्रप्रसाद साह, सुरेन्द्र शेरचन, शम्भुकुमार पहारी र श्रीकृष्ण गिरीको आवेदन स्वीकृत गरेको छ।
आवेदन दिएकामध्ये प्रमोदकुमार सर्राफ र जेएन पाण्डेय हिमालीको भने रद्द भएको छ। आयोगसँग कुनै पनि किसिमको स्वार्थको टकराव नभएको लगायत स्वयम् घोषणा गर्नुपर्ने प्रतिबद्धता नहुँदा आवेदन रद्द गरिएको छ।
लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको संयोजकत्वमा उपाध्यक्षको नाम सिफारिसका लागि समिति बनेको छ। उक्त समितिले तीन जनाको नाम सिफारिस गरेपछि तीमध्येबाट सरकारले एक जनालाई आयोगको उपाध्यक्ष नियुक्त गर्नेछ।
सिफारिस समितिले आवेदन स्वीकृत गरेका ९ जनालाई साउन २६ र २७ गते विहान ११ बजे लोक सेवा आयोगको अनामनगरस्थित कार्यालयमा अन्तर्वार्ताका लागि उपस्थित हुन आग्रह गरेको छ।
लोक सेवा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेवसाइटमा सूचना निकालेर समितिले आयोगको नेतृत्व र नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने सोचपत्र, चार वर्षे व्यवसायिक कार्ययोजना र कागजातको सक्कल लिएर आउन आवेदकलाई आग्रह गरेको हो।