उदयपुर र सुनसरीमा मंगलबार बिहान भएको छुट्टाछुट्टै एम्बुलेन्स दुर्घटनामा ११ जना घाइते भएका छन्।
झापाबाट उपचार गरी घर फर्केकालाई लिएर गाईघाटतर्फ जाँदै गरेको मे १ च ६६१ नम्बरको एम्बुलेन्स आज बिहान साढे ३ बजे उदयपुरको त्रियुगा नगरपालिका-६ चुरेमा अनियन्त्रित भई दुर्घटना भएको थियो।
दुर्घटना परी त्रियुगा नगरपालिका-६ का सदहरुल मिया, निजको छोरी २८ वर्षीया सहिजा मिया, सोही स्थान बस्ने ३५ वर्षीय मोहम्मद हमिद, ४० वर्षीया सहिपुन खातुन, ७५ वर्षीया हजरा खातुन, त्रियुगा नगरपालिका-१२ की ३२ वर्षीया अम्बिका विक र उनका छोरा ११ वर्षीय अशोक विक घाइते भएका हुन्।
घाइते सबै जनाको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ भने चालक र एम्बुलेन्स ईलाका प्रहरी कार्यालय जलजलेको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
यसैगरी, उदयपुरको उदयपुरगढी गाउँपालिका-१ बाट सुत्केरी ब्यथा लागेको बिरामी बोकेर विराटनगरतर्फ आउँदै गरेको स १ झ ५२६ नम्बरको एम्बुलेन्स सुनसरीको गढी गाउँपालिका-२ को थलाहा पुलमा आज बिहान ३:१० बजे ठोक्किएर दुर्घटना भएको छ।
दुर्घटनामा परी एम्बुलेन्समा सवार उदयपुर गढी गाउँपालिका-१ की ३२ वर्षीया सविना बाँस्तोला (सुत्केरी ब्यथा लागेको बिरामी), उनका श्रीमान् ३६ वर्षीय खेम बहादुर बाँस्तोला, सोही स्थानका ३६ वर्षीय सिताराम बाँस्तोला घाइते भएका छन्। उनीहरूको विराट टिचिङ अस्पताल गंगा चौकमा उपचार भइरहेको छ भने चालक सोही स्थानका २८ वर्षीय नीर बहादुर पुलामी मगरको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।