धनगढीमा बम विस्फोट गराएको अभियोग लागेका नेत्रविक्रम चन्द समूहका एक जना अस्पतालबाट डिस्चार्जलगत्तै पक्राउ परेका छन्।
धनगढी ३ मा साउन २ गते शक्तिशाली बम बिस्फोट गराउँदा आफैं घाइते भएका लक्ष्मण सरेलालाई मंगलबार बिहान प्रहरीले मेट्रो अस्पतालबाटै पक्राउ गरेको हो। उनी निको भएर घर फर्किने तयारी गरिरहेका बेला प्रहरीले पक्राउ गरेको हो।
सहिदगेटमा रहेको नीलम होटलमा साउन २ गते गराइएको बिस्फोटमा पाँच जना घाइते भएका थिए। घाइतेमध्ये राम सिंहको मृत्यु भएको थियो।
सो घटना गराउँदा आफैं घाइते भएका सरेलाविरूद्ध कर्तव्य ज्यानमुद्दामा अनुसन्धान भइरहेकाले पक्राउ गरिएको कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीले बताए। गिरीका अनुसार उनीमाथि कर्तव्यज्यान मुद्दासँगै बम बिस्फोट मुद्दा पनि चलिरहेको छ।
उनको पार्टीमा के हैसियत थियो भन्ने स्पष्ट हुन सकेको छैन। ‘हामी अनुसन्धानकै क्रममा छौं, उनीमाथि दुई वटा मुद्दाको अनुसन्धान चलिरहेकाले पक्राउ गरिएको हो,’ गिरीले भने।