पूर्वसांसद गायत्री साहले जन्माएको बच्चा पाँच महिनादेखि मेडिसिटी अस्पतालमा छ।
जन्मँदा ‘डाउन सिन्ड्रोम’ देखिएपछि शिशुको उपचार र जीवन रक्षाको जिम्मेवारी कसले लिने भन्नेमा साह र मेडिसिटी अस्पतालबीच लामो समयसम्म चलेको विवाद अहिले अदालतमा पुगेको छ।
तर, अदालतले पनि ‘दुवै पक्षबीच सहमति आवश्यक रहेको र त्यो नै बच्चाको हितमा हुने’ भन्दै आफैं समाधान गर्न आदेश दिएको छ।
दुवै पक्षबीच सहमति भने हुन सकेको छैन। मेडिसिटीले बच्चाको जीवनभरको उपचार खर्च व्यहोर्ने मौखिक सहमति दिएको छ। साहले भने लिखित सहमति दिएमात्र बच्चा घर लैजाने अडान राखिरहेकी छिन्।
साहले गत फागुन २८ गते मेडिसिटी अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन्। शिशु जन्मिँदा स्वास्थ्य ठीक थिएन। भारतमा रगत परीक्षण गर्न पठाएपछि शारीरिक विकास कम हुने रोग ‘डाउन सिन्ड्रोम’ पत्ता लागेको थियो।
चिकित्सकको लापरबाहीका कारण अस्वस्थ बच्चा जन्मिएको भन्दै साहले जीवनभरको उपचार खर्च ग्यारेन्टी अस्पतालले गर्नुपर्ने अडान राख्दै आएकी छिन्। साहले त्यस्तो अडान राखेपछि अस्पताल ललितपुर महानगरपालिकाको न्यायिक समिति हुँदै अदालतसम्म पुगे पनि अझै सहमति हुन नसकेको हो।
अस्पताल प्रशासन र साह दम्पत्तिबीचको विवादमा जिल्ला अदालत ललितपुरले साउन १७ गते आदेश दिँदै ‘दुई पक्षबीच सहमति’ खोजेको छ।
अस्पतालले बच्चा जिम्मा नलिएकोमा कारबाही माग्दै दायर गरेको अर्को मुद्दा जिल्ला अदालतमा हालेकोमा त्यसमा उच्च अदालत पाटनले जिल्लाकै आदेश सदर गरिदिएको छ।
सुरूमा शिशु घर नलगेको भन्दै मेडिसिटी अस्पताल ललितपुर महानगरपालिकाको न्यायिक समितिमा गएको थियो।
वैशाख ९ गते न्यायिक समितिले शिशुलाई जिम्मा लगाउन दुवै पक्षबीच मेलमिलापको आवश्यकता रहेकाले टुंगो लगाउन नसकिएको निर्णय दिएको थियो। त्यसपछि मेडिसिटी जिल्ला अदालत ललितपुरमा गयो।
ललितपुर अदालतमा दिइएको निवेदनमा ‘शिशु जिम्मा नलिएकाले’ कारबाही माग गरिएको थियो। अदालतले जेठ १ गते गायत्रीलाई साधारण तारेख र उनका श्रीमान् राजेशलाई २० हजार धरौटीमा छोडेको थियो।
मेडिसिटी सो आदेशविरूद्ध उच्च अदालत गयो। उच्च अदालतले जिल्लाकै आदेश सदर गरेको छ।
मेडिसिटीले फेरि ‘बच्चा जिम्मा लगाइदिन’ भन्दै जिल्ला अदालत ललितपुरमा असार १५ गते मुद्दा दायर गरेको थियो। साउन १७ गते आदेश दिँदै अदालतले ‘बच्चाको जीवन रक्षामा दुवै पक्षको सहमति’ आवश्यक देखिएकाले कुनै निर्णय गर्न नपर्ने आदेश दियो।
यो आदेशसँगै मेडिसिटीले साहलाई बच्चा जिम्मा लगाउन सकेको छैन। र, अहिले मेडिसिटी र साहबीच संवाद पनि हुन छोडेको छ।
बच्चालाई भने वार्डमा सारिएको छ। अस्पताल प्रशासनका अनुसार बच्चा स्वस्थ भइसकेको छ तर साह दम्पत्तिले घर लैजान मानेका छैनन्।
‘बच्चाको स्वास्थ्य ठिकै छ, उहाँहरूले घर लैजान मान्नुभएको छैन,’ मेडिसिटीकी सूचना अधिकारी मनिता पोखरेलले भनिन्।
यता, साह दम्पत्ति भने ‘डाउन सिन्ड्रोम’ भएको बच्चालाई जतिबेला पनि स्वास्थ्यमा समस्या आउने भएकाले ठोस निर्णयबिना घर नलैजाने पक्षमा छन्। राजेशका अनुसार अस्पतालले बच्चाको जीवनभर हुने औषधि उपचार आफूले गरिदिने मौखिक सहमति दिएको छ।
तर, साह दम्पत्तिले त्यसरी नहुने भन्दै लिखित सहमति मागिरहेका छन्। ‘उहाँहरूले लिखित सहमति दिएको दिन हामी शिशु घर लैजान्छौं,’ राजेशले भने, ‘तर, मेडिसिटीले लिखित सहमति दिन नसकेकाले बच्चा अस्पतालमा बसिरहन परेको हो।’
१२ हप्तामै पत्ता लाग्नुपर्ने ‘डाउन सिन्ड्रोम’ परीक्षण नगर्दा अस्वस्थ शिशु जन्मिएको दाबी साहको छ।
अस्पतालले शिशुको गर्भावस्थामा ‘डाउन सिन्ड्रोम’ परीक्षण गरेको थिएन। साधारणतया ३५ वर्षमाथिका महिला गर्भवती हुँदा शिशुमा ‘डाउन सिन्ड्रोम’ समस्या बढी देखिन सक्छ। साह गर्भवती हुँदा ३४ वर्षकी थिइन्। ‘डाउन सिन्ड्रोम’को अवस्था देखिए त्यस्तो शिशु नजन्माउन डाक्टरहरूले सुझाव दिने गरेका छन्।
के हो ‘डाउन सिन्ड्रोम’, चिकित्सक के भन्छन्?
चिकित्सकका अनुसार क्रोमोजमोममा हुने असामान्य अवस्था डाउन सिन्ड्रोम हो। सामान्य बच्चामा ४६ क्रोमोजोम हुन्छन् भने डाउन सिन्ड्रोम भएका बच्चामा ४७ क्रमोजोम हुन्छन्।
२३ क्रोमोजोमको ठाउँमा थप क्रोमोजोम हुने भएकाले यसलाई ‘ट्राइजोमी क्रोमोजोम’ पनि भनिन्छ। यो वंशानुगत रोग पनि हो। परिवार कसैलाई भएको भए नयाँ बच्चामा पनि हुने सम्भावना हुन्छ।
डाउन सिन्ड्रोम कसरी हुन्छ ?
डाक्टर नुतन शर्माका डाउन सिन्ड्रोम हुनुमा असामान्य खालको क्रोमोजोम र वंशानुगत कारण हुन सक्छन्। बच्चामा डाउन सिन्ड्रोम हुनुको प्रमुख कारण गर्भवती महिलाको उमेर नै हो। बढी उमेरका महिला गर्भवती हुँदा बच्चामा डाउन सिन्ड्रोम हुने सम्भावना बढी हुन्छ।
ढिला बिहे गर्ने अनि ढिलो बच्चा जन्माउँदा यस्तो खतरा हुन्छ। सामान्यत: महिलाले ३० वर्षअघि नै बच्चा जन्माइसक्नु राम्रो हो। अहिले मानिसहरू करियरका कारण ३४ देखि ३८ सम्म बच्चा जन्माउँछन्। ढिला बच्चा पाउने क्रम बढेसँगै डाउन सिन्ड्रोम भएका बच्चा जन्मिने सुरू भएको छ। बढ्दो उमेरमा गर्भवती हुनु नै यसको प्रमुख कारण हो।
एउटा निश्चित उमेरपछि महिलाको डिम्वासयमा अण्डाहरू कम हुँदै जान्छ। ३० वर्षसम्म गर्भवती भएका महिलाबाट जन्मिएका बच्चामा डाउन सिन्ड्रोमको सम्भावना कम हुन्छ। विश्वभर १ हजार गर्भवतीमध्ये १ जना महिलाको बच्चामा यस्तो समस्या देखिन्छ। ४० वर्ष कटेका गर्भवती महिलाहरूलाई आधार मान्दा भने १ हजारमध्ये १३ जना महिलाबाट जन्मेका बच्चालाई डाउन सिन्ड्रोम हुने तथ्यांक छ।
डाउन सिन्ड्रोम भएको बच्चा जन्मिने गर्भमै थाहा पाउन सकिन्छ? (भिडियो)
गर्भवतीको स्वास्थ्य परीक्षण गर्दा बिरामी जोखिममा छ कि छैन भनेर हामी स्क्रिन गर्छौं। ३५ वर्षभन्दा बढी उमेरका, घरमा कोही असामान्य बच्चा भएको र पहिला पनि डाउन सिन्ड्रोम भएको बच्चा देखिएको थियो भने यस्ता महिलाको हामी विशेष ध्यान दिएर परीक्षण गर्छौं।
नेपालमा यसको परीक्षण हुन्छ र भइरहेको पनि छ। बच्चामा डाउन सिन्ड्रोम छ कि छैन भन्ने केही महिनामै थाहा हुन्छ।
गर्भवती भएको १० देखि १२ साताको बीचमा अल्ट्रासाउन्ड गरिन्छ त्यो बेला बच्चाको पछाडिको भाग कति बाक्लो छ परीक्षण गरेर पत्ता लगाइन्छ।
त्यतिबेला पछाडिको भाग बाक्लो देखियो भने भने १५ देखि १८ सातामा रगत परीक्षण गरिन्छ त्यो बेलामा डाउन सिन्ड्रोम भए/नभएको ८५ प्रतिशत थाहा हुन्छ। यस्तो अवस्थामा बिरामीको पेटबाट सुई हानेर बच्चा नजिकको पानी निकालेर क्रोमोजोम परीक्षण गर्नुपर्छ। क्रोमोजोम परीक्षणपछि बच्चामा डाउन सिन्ड्रोम छ कि छैन सतप्रितशत थाहा पाउन सकिन्छ।
यो रोग पत्ता लाग्नु एकदमै जरूरी छ किनभने डाउन सिन्ड्रोमको कुनै उपचार छैन। रोग पत्ता लागिसकेपछि गर्भपतनमा जान्छौं।
१८ देखि २० सातामा यो रोग पत्ता लागिहाल्छ। ५ महिना नपुग्दै थाहा यस्तो भएको थाहा भए गर्भपतन गर्न पनि गाह्रो हुँदैन। यदि डाउन सिन्ड्रोम नै छ भने गर्भवती तयार भए बढी समय हुँदा पनि गर्भपतनमा जानुपर्छ।
जन्मिएका बच्चा असामान्य
क्रोमोजोम असामान्य हुने भएकाले बच्चा पनि असामान्य खालको हुन्छ। जन्मिनेबित्तिकै यिनीहरूको शरीर नै फरक खालको देखिन्छ। नाक थेप्चो हुने, कान फराकिलो हुने, खुट्टाका औंलाको बीचमा बढी ग्याप हुन्छ। यस्ता बच्चाहरुको जिब्रो बाक्लो हुन्छ। यिनीहरू हँसिला र निर्दोष देखिन्छन्।
सामान्य काम गर्न सक्दैनन् र व्यवहार पनि असामान्य देखाउँछन्। उमेर बढ्दै गए पनि त्यो अनुसारको शारीरिक विकास भने हुँदैन।
डाउन सिन्ड्रोम भएर जन्मेका मानिस ५५-५६ वर्ष बाँचेका छन्।