बस दुर्घटनामा परी दाङमा १४ जना घाइते भएका छन्।
मंगलबार तुलसीपुरबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ६४३१ नम्बरको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।
दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ दमारगाउँ निवासी २३ वर्षीय सुदन पुन, तुलसीपुर १९ का २८ वर्षीय कमल खत्रीसहित १४ जना रहेका छन्।
घाइतेहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।
घोराही उपमहानगरपालिका वडा नं. १० गुर्जेखोलामा ओभरटेक गर्ने क्रममा बस पल्टिएर १० मिटर तल खसेको थियो। चालक भने फरार रहेको प्रहरीले जानकारी दियो।