विराटनगरका चामल व्यापारीको हत्या गर्न पाँच लाख भारतीय रुपैयाँ ‘डिल’ गरी आएका भारतीय ‘सुटर’लाई मोरङ प्रहरीले पक्राउ गरेको छ।
विराटनगर हाटखोलाका जितेन्द्र रायको हत्याका लागि भारू पाँच लाखमा डिल गरी आएका दुई सुटरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा मन्नु गुप्ता, हरिनारायण झा र सार्पसुटर कुलानकुमार सिंह रहेका छन्।
प्रहरीले सिंह र गुप्तालाई विराटनगर र झालाई सर्लाहीबाट पक्राउ गरेको प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।
पक्राउ परेकाहरूलाई संगठित अपराध र हात-हतियार तथा खरखजना मुद्दामा अनुसन्धानका लागि अदालतमा पेस गरिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए।
प्रहरीले गत जेठ २७ गते नै विराटनगरको मेट्रोसिटी होटलबाट लोड गरिएको दुई थान पेस्तोल र सात राउण्ड गोलीसहित भारतीय नागरिक सिंहलाई पक्राउ गरेको थियो।
पक्राउ परेका सिंहमाथि अनुसन्धान गर्ने क्रममा प्रहरीले डेढ महिनापछि मुख्य योजनाकार मन्नु गुप्ता र ‘कन्ट्रयाक्ट किलर’ झालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार मन्नुले हरिनारायणमार्फत् रायको हत्या योजना बनाएका थिए। विराटनगर आएकामध्ये भारतीय नागरिक राजकुमार रौनियार र राकेश झा भने फरार छन्।
हत्या गरेवापत उनीहरूले जनही १ लाख ६७ हजार भारू पाउने मौखिम सम्झौता गरेको खुलेको अधिकारीले बताए। गत जेठ २६ गते भारत बिहारको सितामढीमा हत्याको योजना बनेपछि सिंह र रौनियार रौतहटको गौर हुँदै विराटनगर आएका थिए। सोही दिन बेलुका राकेशसँगको भेटपछि उनीहरू होटल प्यासिफिकमा बास बसेका थिए।
जेठ २७ गते बिहान राकेशले सुटर सिंह र रौनियारलाई विराटनगर रायको घरमा निगरानी गर्न खटाएका थिए। बिहान करिब ६ बजे निगरानी गरेर फर्किएपछि दुई जनालाई भारू ६-६ हजार दिएर बाँकी रकम हत्यापछि सितामढीमा दिने भन्दै विराटनगर छाडेका थिए। उनीहरूबीच हत्यापछि १ लाख ६७ हजारका दरले तीन जनाको भाग लाग्ने मौखिम सहमति थियो।
सहमतिपछि दिउँसो रायलाई गोली प्रहार गर्न भन्दै लोड गरिएको पेस्तोलसहित सुटर सिंह र रौनियार उनको घरसम्मै पुगेका थिए। तर, त्यो बेला जितु घरमा थिएनन्।
रायको घर जानुअघि दुवैले होटलबाट चेकआउट लिएका थिए। भाग्न सजिलो होस् भन्दै चेकआउट गरेका कारण उनीहरूले होटलको बिल तिरेको प्रहरीले जनाएको छ। रायको हत्या गर्ने योजना असफल भएपछि प्यासिफिक छाडेर होटल मेट्रोसिटी गीत–गजल पुगेका थिए। जहाँ मदिरा सेवन गरेर नाचगान गर्दा हतियार बोकेको देखिएपछि प्रहरीले सिंहलाई नियन्त्रणमा लिएको थियो। प्रहरी आएको थाहा पाएपछि रौनियार भने होटलबाट भागेका थिए।
मन्नु गुप्ता र रायबीच लफडा
केही समयअघि रायले आफ्नो घर बैंक कर्जाबाट मुक्त गराउन मन्नुसँग ८५ लाख रुपैयाँ सापटी लिएका थिए। ब्याज तिर्नु नपर्ने सर्तमा पैसा दिएर गुप्ताले आफ्नी श्रीमतीको नाममा रायको घर पास गराएका थिए।
सम्झौताविपरीत गुप्ताले बीचमा पैसा माग्न थालेपछि उनीहरूबीच मनमुटाव सुरू भएको थियो। त्यहीबीचमा गुप्ता बलात्कार मुद्दामा जेल परे र सो प्रकणमा रायले आफूलाई फसाएको आरोप लगाए। त्यसैको ‘बदला’ लिन गुप्ताले भारतबाट सुटर ल्याएर रायको हत्या योजना बनाएको प्रहरी उपरीक्षक अधिकारीले बताए।