ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुखसहित ५ जना बुधवार दिनभर बजारका गाई लखेट्नै व्यस्त रहे। ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक चन्द्रबहादुर केसीको कमाण्डमा ५ जना ट्राफिकले तुलसीपुरस्थित घोराही रोडमा बसेका ३ दर्जन गाइलाई लखेटेर ३ किमी पर राजापुरको जंगलमा लगेर छोडिदिए।
विद्युत कार्यालय र यातायात कार्यालय आसपासको सडकमा बसेका छाडा गाईगोरुका कारण सडक नै जाम हुने अवस्था आएको प्रमुख केसीले बताए।
‘छाडा गाई गोरुका कारण सडक दुर्घटनाको जोखिम बढुनुको साथै ट्राफिक व्यवस्थापनमा समेत चुनौति थपिएको छ’ केसीले भने। यस्ता छाडा गाई गोरुका कारण तरकारी तथा फलफूल पसले आजित भएका छन्। ‘भोकाएका गाईले तरकारी र फलफूल झम्टि हाल्छन्, कति लखेट्ने?’ तरकारी व्यवसायी नारायण केसीले भने।
तुलसीपुर बजार क्षेत्रबाट हप्ता दिन अगाडि मात्रै एउटा सहकारी संस्थाले झन्डै डेढ सय बढी छाडा गाई गौशालामा लगेको थियो। ‘सहकारीले गाई लगेको केही दिनसम्म केही राहत महसुश भयो,’ केसीले भने ‘फेरि उस्तै।’
दूध दिँदासम्म गाई र खेत जोत्दासम्म गोरु पाल्ने त्यसपछि घरबाट लखेट्ने क्रम बढ्दा समस्या आएको केसी बताउँछन्। छाडा चौपाया व्यवस्थापनको लागि स्थानीय सरकारले दिर्घकालीन योजना नबनाउँदा सम्म यो समस्या समाधन नहुने उनले तर्क गरे। ‘स्थानीय सरकारले गाई घरदेखि लखेट्ने किसानलाई पनि कारबाही गर्न सक्नु पर्छ।’
घोराहीका छाडा चौपाय चाक्लीघाट लगियो
घोराही उपमहानगरले बजारमा छोडिएका चौपायाको व्यवस्थापन सुरु गरेको छ। उपमहानगरले बजारमा यत्रतत्र छोडिएका चौपायालाई चाक्लिघाटमा व्यवस्थापन सुरु गरेको हो।
उपमहानगरले चाक्लिघाटमा अस्थायी टहराको स्थापना गरी छाडा पशुको व्यवस्थित गर्न लागेको हो। पशुपालनलाई आम्दानीसँग जोड्ने र चौपायाको व्यवस्थापन पनि हुने उपमहानगरको भनाइ छ।
चाक्लिघाट पुुर्याइएका गाईगोरुको पालनपोषण र रेखदेखको जिम्मा स्थानीयले लिएका छन्। तत्कालको लागि अस्थायी संरचना निर्माण गरी गाईगोरु पालिने छ। गाईगोरुबाट दुध, मलमुत्रको कारोबार हुनेछ।
साथै उपमहानगरले आगामी दिनमा बजार क्षेत्रमा चौपाया नछोड्नको लागि पनि स्थानियलाई आग्रह गरेको छ।