सरकारले हालै तोकेको तलबमान सच्याउन नेपाल चिकित्सक संघले माग गरेको छ।
तलबमान असमान भएको दाबी गर्दै संघले अविलम्ब नयाँ तलबमान तोक्नका लागि अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको हो।
संघका महासचिव लोचन कार्कीले बुधबार विज्ञप्ति निकालेर असमान तलबमानका कारण नवआगन्तुक चिकित्सकलाई असर पर्ने र मनोबलसमेत गिर्ने भएकोले तलबमान सच्याउन माग गरेका छन्।
‘विद्यमान तलबका सम्बन्धमा अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायतका सरोकारवाला निकायले गम्भीर रूपमा मनन गरी अविलम्ब उक्त तलबमान सच्याउन नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ,’ महासचिव कार्कीले उल्लेख गरेका छन्।
चालू आर्थिक वर्षको सुरूआतसँगै सरकारले आफू मातहतका कर्मचारीहरूको नयाँ तलबमान साउन १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको थियो।
‘पाँच वर्ष एमबिबिएस अध्ययन गरेका चिकित्सकहरूको तलबमान तथा एसएलसी अध्ययन पश्चात् सेवा प्रवेश गर्ने प्राथमिक तृतीय श्रेणीको शिक्षकको तलब बराबर हैसियतमा विनियोजन गरिकोप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भनेका छन्।