तुलसीपुरमा एक बालकमाथि अप्राकृतिक मैथुन (बाल यौन दुराचार) गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्। बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १४ निवासी ४३ बर्षीय मुविन राहीलाई उक्त अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी १३ बर्षीय एक बालक माथि मुस्लिम समुदायका राहीले अप्राकृतिक मैथुन गरेको अभियोग लागेको हुँदा पक्राउ गरिएको एसपी पाण्डेले बताए।
‘विहीवार मात्रै ईलाका प्रहरी कार्यालय तुलसीपुरमा आएर पीडित बालकका बुवाले राहीमाथि जवरजस्ती करणी गरेको भन्दै किटानी जाहेरी दिएपछि पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो,’ एसपी पाण्डेले भने।
ईलाका प्रहरी कार्यालय तुलसीपुरको मुद्दा फाँटमा कार्यरत प्रहरी सहायक निरीक्षक भिमबहादुर कार्कीले साउन १७ गते राति राहीले ती बालकलाई आफ्नै कोठामा ललाई फकाई सुत्न बोलाएर यौन दुराचार गरेको भन्ने मुद्दा परेको जानकारी दिए। पीडित बालक र पीडक राही एकै घरमा भाडामा बस्दै आएका थिए।
बालक आफ्ना अभिभावक संगै भाडामा बस्दै आएको र पीडक राही भने एक्लै बस्ने गरेको प्रहरीले बताएको छ। यो बीचमा पीडित बालक र उनका अभिभावकलाई विभिन्न प्रलोभन देखाएर मनाउन प्रयास भएतापनि कुरा नमिलेपछि प्रहरी सम्म मुद्दा परेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
राही तुलसीपुरमा बसेर घरहरुमा पेन्टिङको काम गर्दै आएका व्यक्ति हुन्। पीडितको मौखिक जाहेरीका आधारमा प्रहरीले राहीलाई बुधवार राति पक्राउ गरेको भएपनि बिहीबार मात्रै औपचारिक रुपमा पीडितका बाबुले प्रहरीमा जाहेरी दिएका छन्। बिहीवार नै बाल यौन दुराचारको अभियोग खेपेका राहीमाथि म्याद थप भएको प्रहरीले बताएको छ।