हँसपुर नगरपालिकाका मेयर-उपमेयरको विवादले उग्र रुप लिन थालेपछि प्रमुख र उपप्रमुखबीच सामञ्जस्यता कायम गरी यसको निकास खोज्ने सहमति भएको छ।
जिल्ला समन्वय समिति धनुषाको पहलमा दुबै पक्षबीच बिहीबार भएको वार्तापछि सामञ्जस्यता कायम गरी समस्याको निकास खोज्ने सहमति भएको हो।
दुबै पक्षबीच सामञ्जस्यता कायम गराई कार्यालयको विषयमा कानुनी निकास खोज्नका लागि सात सदस्यीय अनुगमन समिति गठन गरिएको छ।
जिल्ला समन्वय समिति धनुषाको प्रमुख रामदेव बनरैत, संयोजक रह्ने गरी गठन गरिएको अनुगमन समितिमा, जिल्ला समन्वय समिति धनुषाका उपप्रमुख दीपक झा, हँसपुर नगरपालिकाका प्रमुख रामज्ञान मण्डल, उपप्रमुख रेणु झा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका एक जना अधिकृतलाई सदस्य राखिएको छ।
समितिले स्थलगत निरीक्षण गरेर दुबै पक्षबीच सामञ्जस्यता कायम गराई कार्यालय सम्बन्धी विवादको कानुनी निकास खोज्ने प्रयास गर्नेछ। अनुगमन समितिले समेत यसको कानुनी निकास खोज्न नसकेको खण्डमा प्रदेश दुईका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसँग परामर्शको आधारमा निकास खोज्ने निर्णय गरिएको छ।
जिल्ला समन्वय समिति धनुषाको सभाहलमा भएको दुबै पक्षबीचको छलफलपश्चात नगरपालिकाको अनुगमन समितिले सिफारिसको आधारमा मात्रै योजनाहरूको भुक्तानी गर्ने, हँसपुर नगरपालिका वडा नम्बर २ स्थित बघचौडामा प्रहरी र स्थानीयबीचको झडमा परी घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्च तथा सशस्त्र प्रहरीको गाडीमा भएको तोडफोडको मर्रम सम्भार गर्ने लगायतका समेत निर्णय गरिएको छ।