ललितपुर महानगरपालिकाले पनि २ वटा ब्रुमर संचालनमा ल्याएको छ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शुक्रबार एक कार्यक्रमको आयोजना गरी २ वटा ब्रुमर संचालनमा ल्याइएको जानकारी दिए। उनले महानगरपालिकालाई धुलोरहित बनाउने अभियान अन्तर्गत साउन १० गते खरिद गरिएको २ वटा ब्रुमर संचालनमा ल्याइएको बताए।
अत्याधुनिक प्रविधियुक्त भनिएको सो ब्रुमर महानगरपालिका वातावरण विभागको निगरानीमा संचालन गरिनेछ। मेयर महर्जनले ललितपुर महानगरपालिकालाई स्वच्छ र सफा बनाउन हरियाली प्रवद्र्धनको कामलाई जोड दिइएको बताए।
इटालीमा बनेको आधुनिक दुई ब्रुमरको मूल्य ४ करोड ४८ लाख ११ हजार २ सय ८० रुपैयाँ रहेको छ। जेनटक प्राईभेट लिमिटेडबाट बोल पत्र आह्वान गरी खरिद गरिएको सो ब्रुमरको सो रुम ललितपुरमा पनि रहेकाले यसको मेन्टिनेन्समा समस्या नहुने महर्जनले विश्वास व्यक्त गरे। ठूला ब्रुमर संचालन नहुने स्थानहरुमा साना ब्रुमर प्रयोग गरी सफाई अभियानलाई तीव्रता दिने पनि ललितपुर महानगरपालिकाले जनाएको छ।
त्यसैगरी २ वटा पानी टयांकर पनि संचालनमा ल्याइएको छ।महानगरपालिकाले ब्रुमरसँगै संचालनमा ल्याएको २ वटा पानी टयांकर सिपर्दी ट्रेडिङ प्रालिबाट ६२ लाख ९० हजार रुपैँयामा खरिद गरिएको हो।