संसदीय समितिले मेडिकल कलेजहरुको शुल्क तत्काल घटाउन सरकारलाई निर्देशन दिएको छ।
संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबार बसेको बैठकले मेडिकल कलेजहरुको शुल्कसम्बन्धि विवाद समाधान गर्न गठित उपसमितिले दिएको सुझावलाई आधार मानेर तत्काल शुल्क घटाउन सरकारलाई निर्देशन दिएको हो। राष्ट्रिय चिकित्सा शिक्षा ऐनको मर्म अनुसार मेडिकल कलेजहरुको शुल्क घटाउन सरकारलाई निर्देशन दिइएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिइन्।
समितिले मेडिकल कलेजहरुको पाठ्यक्रम र शैक्षिक क्यालेन्डरमा एकरुपता ल्याउन पनि सरकारलाई सचेत गराएको छ। त्यसैगरी गरिव, जेहेन्दार, द्वन्द्व पीडित परिवारका सदस्यलाई चिकित्सा शिक्षा अध्ययनका लागि ऋण उपलब्ध गराउने विशेष व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको सभापति घर्तीले बताइन्।
जेहेन्दार विद्यार्थीहरु खर्चको अभावमा चिकित्सा शिक्षा अध्ययन गर्नबाट बञ्चित हुने गरेकाले उनीहरुलाई ऋण उपलब्ध गराएर भएपनि सरकारले अध्ययन गराउनुपर्ने विशेष व्यवस्था गर्नुपर्ने प्रस्ताव समितिले बैठकमा पेश गरेको थियो।
बैठकमा समितिका सदस्यहरुले राष्ट्रिय चिकित्सा शिक्षा आयोग गठन गर्न ढिलाई नगर्न पनि सरकारलाई सचेत गराएका थिए। समितिका सदस्य एवम् पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले आयोग गठन गरी चिकित्सा शिक्षा अध्ययनमा सबैको पहुँच पु¥याउने काममा सरकारले ढिलाई गर्न नहुने बताए।