मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतिर अवस्थित रहेकाले केही दिन मनसुनी प्रणाली कमजोर हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
भारतको मध्यप्रदेशमा रहेको मनसुनको न्यून चापीय प्रणाली हाल कमजोर भई भारतको राजस्थान क्षेत्रमै रहेकाले मनसुनी गतिविधि कमजोर बन्दै गएको जल तथा मौसम विज्ञान विभाग मौसस पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीले बताइन्।
‘उक्त प्रणालीको प्रभावले आगामी तीन दिन देशभर मनसुन सक्रिय हुने अवस्था रहेको छैन’,मौसमविद् बासीले भनिन्।
‘यो अवधिमा वर्षा नै नहुने भन्ने हुँदैन, अहिले मनसुनको समय हो, ‘आइसोलेटेड’ वर्षा हुनसक्छ। कुनै खास क्षेत्रमा अन्य क्षेत्रमा भन्दा पृथक रूपमा वर्षा हुनसक्छ’, तर त्यसलाई मनसुन पूर्ण सक्रिय भएको भन्न नमिल्ने मौसमविद् बासीको भनाइ रहेको छ।
मौसमविद्का अनुसार न्यून चापीय रेखाको औसत स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण उत्तर-प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बङ्गाल हुँदै बङ्गालको खाडीको शिरसम्म जनाउँछ।
तीन दिनको मौसम पूर्वानुमान
साउन २५ गते (शनिबार)
दिउँसो: देशका धेरैजसो स्थानहरूमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको संभावना छ। देशको पहाडि भू-भागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ|
राति: देशका धेरैजसो स्थानहरूमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशको मध्य र पूर्वी पहाडी भू-भागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ|
साउन २६ गते (आइतबार)
दिउँसो: देशका धेरैजसो स्थानहरूमा सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशका पश्चिमी भू-भागका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।
राति: देशका धेरैजसो स्थानहरूमा सामान्यतया बदली रही पश्चिमका केही स्थानहरूमा तथा पूर्वी र मध्यका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। पश्चिमी भू-भागका एक वा दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ।
साउन २७ गते (सोमबार)
दिउँसो: देशका धेरैजसो स्थानहरूमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानहरूमा तथा पूर्वी र मध्यका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशका पश्चिमी भू-भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।
राति: देशका धेरैजसो स्थानहरूमा सामान्यतया बदली रही केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।