चितवन, भरतपुर महानगरपालिकाले ‘एक वडा, एक रङ’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।
यस आर्थिक वर्षदेखि महानगरले एउटा वडाका घरहरूमा एकै किसिमको रङ लगाउने निर्णय गरेको हो।
हरेक वडाले आफ्नो रङ चुन्न पाउने र त्यही अनुसार घरहरूमा रङ लगाउनुपर्ने महानगरले जनाएको छ।
यसरी रङ लगाए वडा चिन्न सहज हुने भएकोले महानगरे यस्तो कार्यक्रम सञ्चालनमा ल्याएको हो।
यस कार्यक्रमका लागि महानगरले ५० प्रतिशतसम्म अनुदानको व्यवस्था गर्न लागेको छ। त्यस्तै बाँकी ५० प्रतिशत आफैं घरधनिले व्यहोर्नु पर्ने भएको छ।
यस कार्यक्रम तीन वर्षभित्र सक्ने लक्ष्य राखेको महानगरपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष अरुण पिडित भण्डारीले बताए।
‘एक वडा, एक रङ’ अवधारणा अलि फराकिलो काम हो, त्यसलाई एक सडक एक रङ भन्न सकिन्छ। किनभने एउटै वडामा पनि धेरै किसिमका सडक छन् त्यसैले विभिन्न बाटोमा विभिन्न रङ हुने छन्,’ प्रवक्ता भण्डारीले भने,‘दायाँ बाटोका घरमा एक र अर्को बायाँपट्टिका घरमा अर्को रङ हुन सक्छन्।’
रङ लगाउने काम यस वर्षको दसैंको अवसर पारी सुरू गरिने छ।
‘एक सडक, एक रङ’ कार्यक्रम भने गत वर्षकै कार्यक्रम रहेको महानगरले जनाएको छ।
त्यसैगरी महानगरले गत वर्ष ‘एक सडक, एक स्विच’ कार्यक्रम पनि सञ्चालन गरेको थियो। जसमा सडकमा भएको बत्तीहरूको एउटै स्विचबाट निभाउन सुरू गरिएको थियो।
दिनभर बत्ती बलिरहने भएर एउटै स्विचको प्रयोग गरी बत्ती निभाउन सहज बनाएको प्रवक्ता भण्डारीले बताए।
त्यस्तै, ‘एक वडा, एक रङ’ अन्तर्गतको कार्यक्रममा घरधनिले अगाडिपट्टि मात्रै वडा अनुसारको रङ र भित्र आफू खुसी राख्न सक्ने उनले बताए।
रङ लगाउने काम त्यहाँका रङ उद्योगहरूसँग समन्वय गरी सञ्चालन गर्ने योजना समेत रहेको महानगरले बताएको छ।