राजधानीका विभिन्न स्थानमा गैरकानुनी रुपमा अन्तर्राष्ट्रिय कल बाइपास सञ्चालन गरिरहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवन भरतपुर नगरपालिका १८ घर भएका ३६ वर्षीय नसिव तामाङ छन्।
उनलाई काठमाडौं ४ बालुवाटारको टुसाल शितलमार्गबाट पक्राउ गरी दुरसञ्चार ऐन अन्तर्गत अनुसन्धान थालिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।
ब्युरोका अनुसार उनको साथबाट ३२ पोर्टको जिओआइपी गेटवे, ल्यापटप, नेपाल टेलिकमको सिमकार्ड, एनसेलको सिमकार्ड, मोबाइल लगायत बरामद भएको छ।
प्रहरीका अनुसार उनी भिओआइपी कल बाइपासमा पहिले पनि पक्राउ परिसकेका व्यक्ति हुन्। उनलाई प्रहरीले २०७२ जेठ १९ गते धापासीबाट पक्राउ गरेको थियो। त्यसबेला उनी एक वर्ष जेल परेर छुटेका थिए।
केही समय उपत्यकामा कल पाइपास चलाएर राजधानीबाहिर सञ्चालन गर्ने योजना रहेको र उनको विदेशी कल क्यारियरसँग समन्वय रहेको ब्यरोले जनाएको छ।