सर्वसाधारणबाट करोडौं रुपैयाँ संकलन गरेर मोरङ बेलबारीका व्यापारी घनश्याम श्रेष्ठ बेपत्ता भएका छन्। बेलबारी नगरपालिका-१ का श्रेष्ठ जग्गा व्यवसाय र उद्योग स्थापना गरेर सेयर दिने भन्दै १५ करोड रुपैयाँभन्दा बढी रकम संकलन गरी फरार भएका हुन्।
स्थानीयका अनुसार ओमकृष्ण सुनचाँदी पसलका सञ्चालक उनी जग्गा व्यवसायी पनि हुन्। उनको हार्डवेयर पसल पनि सञ्चालनमा छ।
दुई वर्षदेखि उनले ५० हजारदेखि ४२ लाख रुपैयाँसम्म उठाउँदै आएको स्थानीयले बताए। लामो समयसम्म सेयर नदिएपछि स्थानीयले श्रेष्ठलाई पैसा फिर्ताका लागि ताकेता गरिरहेका थिए।
स्थानीयले पैसा माग्न थालेपछि उनी एक महिनादेखि फरार भएको पीडित चन्द्रबहादुर गुरुङले बताए। गुरुङले इनामेलको उद्योग खोल्ने भन्दै श्रेष्ठले बाँझो जग्गा देखाएर आफूसँग आठ लाख रुपैयाँ लिएको बताएका छन्।
‘एक वर्षसम्म उद्योग नखुलेपछि पैसा माग्न जाँदा उनी त भागिसकेका रहेछन्,’ उनले भने।
पीडितले श्रेष्ठलाई सम्पर्कमा ल्याएर पैसा फिर्ता गराइदिन प्रस्तावित उद्योग वाणिज्य संघ बेलबारीमा निवेदन दिएका छन्। संघका उपाध्यक्ष केदार अधिकारीका अनुसार दुई सय जनाभन्दा धेरैले निवेदन दिएका छन्। पीडितहरूले नगरपालिकामा पनि निवेदन दिएका छन्। नगरपालिकाले प्रहरी प्रशासनमा गएर निवेदन दिन सुझाएको छ। उप-प्रमुख ढाकाकुमारी पराजुलीले पीडितलाई प्रशासनमा जान भनेको बताइन्।
पीडितहरूमध्ये केही प्रशासन पुगेका छन्। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले भने, ‘केही व्यक्तिले फोनमार्फत जानकारी गराउनुभएको छ। निवेदन लिएर आउन भनेका छौं। उहाँहरूमध्ये केहीले प्रशासनमा निवेदन पनि दिनुभएको छ।’
प्रशासनमा केही व्यक्तिले दिएको निवेदनमा आठ करोड रुपैयाँ उल्लेख रहेको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए। ‘अहिले परेको निवेदनमा आठ करोड उल्लेख छ, यो अझै धेरै रहेको बुझिएको छ,’ अधिकारीले भने।
उनका अनुसार प्रहरीमा निवेदन परेको छैन। लेनदेनको विषय प्रहरीले नहेर्ने भएकाले पीडितहरू प्रशासन गुहार्न पुगेका छन्। ‘ठगीमा आकर्षित हुन्छ कि भनी हामी अनुसन्धानमा जुटेका छौं,’ अधिकारीले भने। श्रेष्ठले २४ प्रतिशत ब्याजदरमा पैसा संकलन गरेको पाइएको छ।
यसरी अस्वाभाविक ब्याजदरमा पैसा दिन व्यक्तिहरू तयार हुनुले श्रेष्ठले स्थानीयको मन जितेको हुनसक्ने अनुमान गरिएको छ। एसपी अधिकारीका अनुसार श्रेष्ठलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको छ। उनको खोजीमा प्रहरी जुटेको पनि छ। ‘हामी खोजी गरिरहेका छौं, आफन्तलाई उपस्थित गराउन ताकेता गरेका छौं,’ अधिकारीले भने।