हँसपुर नगरपालिकामा लागेको ताला २६ दिनपछि खुलेको छ।
नगरपालिकाका प्रमुख तथा उपप्रमुखबीचको विवादका कारण लागेको ताला बुधबार खोलिएको हो। नगरपालिकाका प्रमुख रामज्ञान मण्डलले काम गर्ने वातावरण बघचौडामा नरहेको कारण देखाउँदै बेल्ही चोकमा गत साउन ३ गते अस्थायी कार्यालय सारेका थिए।
प्रमुख मण्डलले बचौडास्थित कार्यालयमा रहेको कागजात तथा फाइलहरु लग्न खोजेपछि आफूले साउन ३ गते राति ११ बजे सो कागजातहरुको सुरक्षाका लागि ताला लगाएको उपप्रमुख रेणु झाले बताइन् । उनले नगरपालिकाका अधिकृत हरिशंकर यादव, प्रशासनिक अधिकारी तथा पत्रकारहरुको रोहवरमा ताला खोलेकी हुन् ।
यता उच्च अदालत जनकपुरले बघचौडामै तत्कालका लागि कार्यालय संचालनमा ल्याउन अन्तरिम आदेश दिएपछि आफूले ताला खोलेको उपप्रमुख झाले बताइन् । उच्च अदालत जनकपुरले मंगलबार भदौ ३ गते बहस नभएसम्मका लागि कार्यालयलाई यथास्थितिमै राख्न आदेश दिएको थियो ।
नगरपालिकाको कार्यालय खोलिएपछि सम्पूर्ण कामकाज बघचौडाबाटै संचालनमा आएको छ। नगरपालिकाको हाजिरी रजिष्टारमा अधिकृत यादवले हस्ताक्षर गर्दै कामकाज संचालनमा ल्याएका हुन् ।
नगरपालिकाका अधिकृत हरिशंकर यादवले अदालतले आदेश दिएपछि आफूहरु आदेशको सम्मान गर्दै बघचौडास्थित कार्यालयमा उपस्थित भई काम थालेको बताए ।
यसअघि प्रमुख रामज्ञान मण्डलले बेल्ही चोकस्थित कार्यालय संचालनमा ल्याएपछि कर्मचारीहरु साबिकको कार्यालयमा उपस्थित नभई बेल्ही चोकमै उपस्थित हुँदै आएका थिए।