वरिष्ठ पत्रकार तथा साहित्यकार मदनमणि दीक्षितको बिहिबार बिहान निधन भएको छ। उनको बिहिबार बिहान सबेरै ३ र ४ बजेको बीचमा निधन भएको पारिवारिक श्रोतले बताएको छ। उनी ९७ वर्ष पूरा भई ९८ वर्षमा प्रवेश गरेका थिए।
उनलाई १२ दिन अगाडी निमोनिया भएपछि सुमेरू अस्पताल लगिएको थियो। उपचारकै क्रममा बुधबार उनको शरीरमा मृगौलालाई प्रभावित पार्ने क्रेटेनाइनको मात्रा अत्याधिक देखिएपछि चिकित्सकहरूले अक्सिजनको सहायतामा घरै लैजानु उचित हुने सुझाव दिएपछि राति ९ बजे घर ल्याइएको थियो। उनी बिहान ३ बजे आफै उठेर शौचालय गएका थिए। त्यसपछि नै उनलाई परिवारका सदस्यले अचेत अवस्थामा भेटेपछि तत्काल घर नजिकैको हिमाल अस्पताल लगेका थिए।
त्यहाँ चिकित्सकहरूले उनको मृत्युको घोषणा गरेका थिए।
जेठा छोरा एवं पत्रकार विनोदमणि दीक्षितका अनुसार वि. सं २०१३ सालमा 'हाल खबर' पत्रिकामा प्रधानसंपादक बनेका थिए। त्यसपछि विपी कोइराला नेपालको प्रधानमन्त्री भएपछि २०१५ साल देखि आफ्नै संपादन र प्रकाशनमा 'समीक्षा' साप्ताहिक सुरू गरे। पंचायतकालमा वाक स्वतन्त्रताको पक्षधर भइ प्रजातान्त्रिक विचारलाई सहज बनाउन महत्वपूर्ण भूमिका खेलेको उक्त अग्रणी साप्ताहिक २०४६ सालको परिवर्तनपछि पनि केहि समयसम्म प्रकाशित थियो। पत्रिका बन्द भएपनि दीक्षितले अन्य पत्रिकामार्फत आफ्ना धारणाहरू पछिल्लो समयसम्मै राख्दै आएका थिए।
'समीक्षा' साप्ताहिकमार्फत लामो समय सक्रिय पत्रकारिता गरेका मदनमणि दीक्षित साहित्यकारका रूपमा चर्चित छन्। वि.सं. २०१९ मा रूपरेखामा 'कसले जित्यो कसले हार्यो' शीर्षकको कथा प्रकाशित गरेर औपचारिक रूपमा साहित्य लेखन सुरू गरेका दीक्षित लिखित 'माधवी' उपन्यासका लागि नेपाली साहित्यप्रेमीमाझ चर्चित छन्। उनको सो कृति २०३९ सालमा प्रकाशित भएको थियो।
सो उपन्यासका लागि उनले मदन पुरस्कार तथा साझा पुरस्कार जितेका थिए ।छोरा विनोदका अनुसार उनले पृथ्वी प्रज्ञा पुरस्कारबाहेक साहित्यकारहरूलाई दिइने सबै पुरस्कार पाएका थिए।
उनी २०५० सालमा प्रज्ञा प्रतिष्ठानका उपकुलपति भएका थिए।
दीक्षितको जन्म वि सं १९७९ फागुन ६ गते बाबु लक्ष्मणमणि आचार्य दीक्षित र आमा विष्णुकुमारीका सुपुत्रका रूपमा गैरीधारा, काठमाडौंमा भएको थियो।
उनका ४ छोरा छन् ।