उपत्यका भित्रिने प्रमुख नाकाको रूपमा रहेको थानकोट नाकाबाट धेरै लागुऔषध ओसारपसार हुने गरेको छ।
महानगरीय प्रहरी वृत्त थानकोटले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७५/०७६ मा १४४ वटा लागुऔषध मुद्दामा १९९ जनाविरूद्ध मुद्दा दायर भएको छ।
वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापा उपत्यका भित्रिने प्रमुख नाका धेरै व्यक्ति आवतजावत गर्ने भएकाले पनि धेरै लागुऔषध ओसारपसार पनि थानकोट नाकाबाटै हुने गरेको बताउँछन्।
‘थानकोट प्रहरी अवैधरूपमा ओसारपसार गरिएको लागुऔषध धेरै हदसम्म बरामद गर्न सफल भएको छ’, उनी भन्छन्।
यस्तै, भक्तपुरको जगाती, काठमाडौंको दक्षिणकालीबाट पनि लागुऔषध भित्रिने गरेको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार काठमाडौं प्रहरीले आव २०७५/०७६ मा मात्र लागुऔषधसम्बन्धी ५२५ विरूद्ध मुद्दा दायर गरेको छ। आव २०७५/०७६ मा भक्तपुरले ३६ र ललितपुरले ५९ व्यक्तिविरूद्ध मुद्दा चलाएको छ।
कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवाली लागुऔषध ओसारपसारमा तराई-मधेश मूलका व्यक्ति धेरै संलग्न हुने गरेको बताउँछन्।
‘छिमेकी मुलुक भारतको खुला सीमानाका कारण पनि तराईको बाटो हुँदै धेरै लागुऔषध उपत्यका भित्रिने गरेको छ’, उनी भन्छन्।
लागुऔषधभित्र पर्ने गाँजा र अफिमबाहेक सबै लागुऔषध विदेशबाट आयात हुने गरेको प्रहरीले बताएको छ।