गोरखाको पालुङटार नगरपालिका -५ स्थित सालघारी जंगलभित्र घुम्ती शिविर बनाएर जुवा खेल्ने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जंगलभित्र त्रिपाल टाँगेर जुवा खेलेका गोरखा, तनहुँ र लम्जुङ घर भएका युवालाई जिल्ला प्रहरी कार्यालय गोरखा लगेर थप अनुसन्धान सुरू गरेको इलाका प्रहरी कार्यालय ठाँटीपोखरीका प्रहरी निरीक्षक सीताप्रसाद चौधरीले सेतोपाटीलाई जानकारी दिए।
‘जंगलभित्र त्रिपाल टागेर जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेका हौं,’ उनले भने, ‘उनीहरूको साथबाट तीन लाख ८७ हजार दुई सय ५० रुपैयाँ बरामद भएको छ।’
जिल्ला अदालत गोरखाबाट म्याद लिई जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको उनले बताए।
जुवा खेल्ने व्यक्तिको नाम प्रहरीले खुलाएको छैन।
‘ठाउँ सरेर उनीहरू जुवा खेल्दा रहेछन्,’ उनले भने, ‘कहिले लम्जुङ, तनहुँ त कहिले गोरखाको जंगलमा।’
गण्डकी प्रदेश प्रहरीबाट खटिएको अनुसन्धान ब्युरो र इप्रका ठाँटीपोखरीको प्रहरी टोलीले बुधबार बेलुकी पक्राउ गरेका जुवाडेलाई बिहीबार मुद्दा दर्ता गरेको हो।