बितेको सात महिनामा विभिन्न १ सय ४ देशका ८६ हजार ५ सय ३१ पर्यटकले बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्। तीमध्ये १३ वटा मुलुकबाट भने एकएक जना मात्रै पर्यटक आएका छन्।
लुम्बिनी विकास कोषको तथ्यांक अनुसार सन् २०१९ को ७ महिनाको अवधिमा अल्बानिया, अल्जेरिया, अन्डोरा, सेलोभेनिया, पाराग्वे, पेरु, माल्डोभा, लिविया, लेवनान, साइप्रस, बोलिभिया, बहामास र बहराइनका एकएक जना पर्यटक लुम्बिनी आएका हुन्।
सन् २०१९ को सात महिनामा भित्रिएको पर्यटक संख्या अघिल्लो वर्षभन्दा १२ हजार ४०२ अर्थात् १६ प्रतिशतले बढी हो।
सन् २०१८ को यही अवधिमा ७४ हजार १२९ जना विदेशी पर्यटक लुम्बिनी भ्रमणमा आएका थिए। सात महिनामा विदेशीसहित नेपाली र भारतीय गरी साढे ९ लाख बढी पर्यटक लुम्बिनी आएको सूचना अधिकृत हरि राईले जानकारी दिए।
खासगरी इस्लाम धर्म मान्ने र युद्धग्रस्त देशका पर्यटक लुम्बिनीमा न्यून आउने गरेका छन्।
अघिल्लो वर्ष सन् २०१८ मा भिआइपी/भिभिआइपी ७ सय २४ पर्यटक लुम्बिनी आएका थिए। यस्तै, अल्जेरियाका ५, सलोभेनियाका २४, पाराग्वेका ५, पेरुका ४, लेवनानका ४, बोलिभियाका २, अल्बनियाका ४ जना र बहराइनका १ जना पर्यटक लुम्बिनी आएका थिए।
यसवर्ष अन्डोरा, माल्डोभा, लिविया, साइप्रस, बहामासका एक–एक जना मात्रै पर्यटक लुम्बिनी आएपनि यी नयाँ मुलुकका पर्यटक थप भएका हुन्। विकास कोषका सूचना अधिकृत राईले एकैजना भएपनि युद्धग्रस्त देशका पर्यटक लुम्बिनी आउनु सकारात्मक रहेको बताउँछन्।
‘यसले के देखाउँछ भने शान्ति चाहने, हिंसा नचाहनेहरुका लागि लुम्बिनी निर्विकल्प ठाउँ हो’ उनले भने।
अघिल्लो वर्ष २०१८ मा इस्लामिक र युद्धग्रस्त ११ देशका १/१ जना पर्यटक लुम्बिनी आएका थिए। अशान्ति भइरहने मुलुकका पर्यटक लुम्बिनीमा शान्ति खोज्न आउनु प्रसंशनीय भएको उनले बताए।
अल्जेरिया ९९ प्रतिशत इस्लाम धर्म मान्ने मानिसको बसोबास रहेको मुलुक हो। यस्तै, लिविया, अल्जेरिया र बहराइनमा पनि शतप्रतिशत मानिसले इस्लाम धर्म मान्छन्। लेवनान ५४ प्रतिशत इस्लाम र पाराग्वे ८९ प्रतिशत रोमन क्याथोलिक मान्ने मुलुक हो।
लिविया युद्धग्रस्त मुलुक समेत हो। खासगरी लुम्बिनीलाई बुद्धिष्टहरुले आफ्नो तिर्थस्थलका रुपमा लिन्छन्। ‘तिर्थस्थल सम्झनेहरु एकपटक आउने कोसिस गर्छन्, पर्यटकीय गन्तव्य मात्रै सम्झने त्यति आइहाल्दैनन्’, राईले भने, ‘इस्लामिक देशका नागरिक अतिबादीबाट फ्रस्टेसन समेत छन्। उनीहरु नआउनुको यो अर्को प्रभाव हो।’
संस्कृतिविद् प्रा.डा.गितु गिरीले धार्मिक मान्यता र प्रचारप्रसार अभावकै कारण इस्लामिक देशका पर्यटक कम आउने गरेको बताए। ‘लुम्बिनीलाई हामीले धार्मिकतासँगै ‘पिस टूरिजम’ का हिसाबले पनि अन्तर्राष्ट्रिय जगतमा प्रचारप्रसार गर्न मात्रै सक्यौँ भने शान्ति खोज्नेहरु, अहिंसा चाहनेहरु बढी आउँछन्’, संस्कृतिविद प्रा.डा. गिरीले भने।