जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न ठाउँमा चोरी र ठगी संलग्न चार जनालाई आइतबार सार्वजनिक गरेको छ।
सुनबाट बनेको बुद्धको मूर्ति भन्दै विक्री गर्ने ३ जना र पोखराका विभिन्न ठाउँमा घरको ढोका फोरेर चोरी गर्ने एक जनालाई कास्की प्रहरीले सार्वजनिक गरेको हो।
बुद्धको सुनको मूर्ति भन्दै १३ लाख रुपैयाँमा विक्री गरी फरार रहेका तीन जना रामराज शिवाकोटी, देवकुमार श्रेष्ठ, र बसन्तबाबु श्रेष्ठ पक्राउ गरिएको हो। शंकास्पद रूपमा हिँडिरहेका तीन जनालाई प्रहरीले पोखरा महानगरपालिका ६ हिडिको पाटनबाट नियन्त्रणमा लिएको कास्कीका प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए।
सुन जस्तो देखिने पहेंलो धातुको बुद्धको मूर्ति दुइटासहित उनीहरूलाई पक्राउ गरेको कार्कीले बताए।
सुन जस्तो देखिने पहेंलो घातुको बुद्धको मूर्ति, धातु छेड्न प्रयोग गरिने ड्रिल मेसिन, कागजमा लुकाइछिपाइ राखेको सुनको जस्तो देखिने पहेंलो धुलो, क्यासिनोका कार्डहरू थान, भारतीय राजदूतासवास काठमाडौं नेपाल लेखिएको कार्ड, भारतीय निर्वाचन आयोगको कार्ड र विभिन्न बैंकहरूका चेकहरू बरामद गरिएको उनले बताए।
उनीहरूले भारतको रासन कार्ड देखाएर नेपालको क्यासिनोमा लेख्न जाने गरेको अनुसन्धानबाट खुलेको बताए।
त्यस्तै, पोखराका विभिन्न स्थानहरूमा चोरी गर्ने लक्ष्मण नेपाल पनि चोरी मुद्दा चलाएको बताए। नेपालीका साथबाट मंगलशुत्र, नेक्लेस, झुम्का, हथौडा, छिना लगायतका वस्तु बरामद गरेको उनले बताए।