महानगरीय ट्राफिक प्रहरी नयाँ बसपार्कमा कार्यरत प्रहरी जवान देवेन्द्र बलायरसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
सवारी दुर्घटनाको प्रहरी रिपोर्ट बनाइदिने भन्दै सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको आरोपमा बलायरसहितका प्रहरीविरुद्ध सोमबार अख्तियारले मुद्दा दायर गरेको हो।
बलायर, प्रहरी जवान आकाश खनाल, प्रहरी जवान निरज भण्डारी र प्रहरी जवान हिटलर साउदलाई केही दिनअघि अख्तियारको विशेष टोलीले घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियार प्रवक्ता प्रदीप कोइरालाले बताए।
अनुसन्धानको क्रममा बलायर, प्रहरी जवान साउद र प्रहरी जवान थापाले आपसी मिलेमतोमा दुर्घटना सिफारिस दिएबापत सेवाग्राहीसँग एक लाख रुपैयाँ लिएको पुष्टि भएको अख्तियारले जनाएको छ। उनीहरू सबैलाई जनही एक लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको प्रवक्ता कोइरालाले विज्ञप्तिमार्फत जनाएका छन्।
उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालतमा मुद्दा दायर गरिएको जनाइएको छ।
नक्कली सर्टिफिकेट बनाएर शिक्षक बनेको भन्दै विशेष अदालतमा मुद्दा
झुठो शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर शिक्षक पेशामा आवद्ध भएको आरोमा एक शिक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रसूर्य आधारभूत विद्यालय, सिंजा, जुम्लाका शिक्षक बीरबहादुर बुढाविरूद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो।
उनको आइएस्सीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको उजुरीउपर अनुसन्धान हुँदा उनले बिहार बोर्ड पटनाबाट झुठो शैशिक्षक प्रमाणपत्र लिएको पुष्टि भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको जनाएको छ।