योग विज्ञान, प्राकृतिक चिकित्सा विज्ञान, आयुर्वेद र जडिबुटीका विषयमा पाठ्यक्रम तयार भएको छ।
योग प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी कार्यक्रमको आवश्यकता पहिचान, पाठ्यक्रम निर्माण परिमार्जन तथा कार्यक्रम सञ्चालन सम्बन्धमा सुझाव दिन गठित समितिले पाठ्यक्रम तयार गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई सोमबार प्रतिवेदन बुझाएको हो।
योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटीको क्षेत्रमा प्राविधिक शिक्षा तथा विद्यालय शिक्षामा आवश्यकता, सम्भाव्यता, औचित्यता र सान्दर्भिकताको आधारमा सञ्चालन गर्न सकिने सम्भावित कार्यक्रमहरुको पहिचान गर्न नेपाल संस्कृत विश्व विद्यालयका अध्यक्ष डा. हरिप्रसाद पोखरेलको संयोजकत्वमा गठित समितिले मन्त्री पोखरेललाई प्रतिवेदन बुझाएको हो।
समितिको प्रतिवेदन बुझ्दै मन्त्री पोखरेलले आवश्यक तयारी र छलफलपछि समितिले बुझाएको सुझाव कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले यो विषय आफ्नो प्राथामिकतामा रहेको उल्लेख गर्दै तत्कालै कार्यान्वयनमा लैजान आवश्यक कदम चाल्ने पनि बताए।
समितिले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटीको क्षेत्रमा विद्यार्थीहरुको आकर्षण बढाउनको लागि कक्षा ९ देखि १२ सम्मको विद्यालय शिक्षामा योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटीसम्बन्धी ऐच्छिक विषयहरु तत्कालै अध्यापनको व्यवस्था गर्न उपयुक्त हुने सुझाव पनि दिएको छ।
प्रतिवेदनमा नयाँ पाठ्यक्रममा नेपालको जडिबुटीसम्बन्धी वास्तविक अध्ययन समेटिएको समितिका संयोजक डा. पोखरेलले बताए। विभिन्न उपसमिति निर्माण गरी करिब चार महिनामा प्रतिवेदन तयार पारिएको पोखरेलले बताए।
नयाँ पाठ्यक्रममा नेपालको संस्कृति, सभ्यता, योगदेखि नेपालका वनजंगल र जडिबुटीको अध्ययन गर्न सकिने पोखरेलले बताए।
समिति सदस्यहरूमा प्रा.डा. सञ्जय पोखरेल, प्रा.डा।. नन्दबहादुर सिंह, डा. शेषराज आर्चाय, डा. जनकबहादुर बस्नेत, डा. लेखनाथ पौंडेल, सञ्जिवकुमार राई थिए भने सदस्यसचिव प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद पाठ्यक्रम विकास महाशाखाका निर्देशक दिपकप्रसाद पौडेल थिए। २०७६ वैशाख १९ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार समिति गठन गरिएको थियो।