शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी सम्बन्धि पाठ्यक्रममा चीन सरकारले चासो देखाएको छ।
चाइना डाइलेक्टिकल एशोसिएसनका अध्यक्षसमेत रहेका बेइजिङ नर्मल युनिभर्सिटीका प्रोफेसर प्रो लिउ सिआओ थिङले शिक्षामन्त्री गिरिराजमणी पोखरेलसँग भेट गरी मन्त्रालयले हालै तयार पारेको पाठ्यक्रमअनुसार अध्ययनका लागि चिनियाँ विद्यार्थी नेपाल आउने विश्वास व्यक्त गरे।
बुधबार भएको भेटमा युनिभर्सिटीका प्रोफेसर थिङले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी विषय अध्ययनका लागि चीन सरकारले वार्षिक एक हजार जना विद्यार्थी पठाउने जानकारी गराए। ‘नेपाल सरकारको सहमतिमा वार्षिक एक हजार विद्यार्थी पढ्न पठाउन चीन सरकारको इच्छा छ,’ उनले भने।
काठमाडौंमा आयोजित माक्सबाद र एशियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपाल आएका थिङ र मन्त्री पोखरेलबीच बुधबार मन्त्रालयमा भेट भएको थियो। भेटमा शिक्षामन्त्री पोखरेलले आवश्यक छलफल गरी पाठ्यक्रम लागू गरिने जानकारी गराएका थिए। ‘गुणस्तरीय शिक्षा दिन सरकार तप्पर छ,’ उनले भने।