पश्चिम नवलपरासी जिल्लामा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले खडा गरेको जनसरकार प्रमुख प्रेम ढकाल (पृथ्वी) पक्राउ परेका छन्।
सुनवल नगरपालिका वडा नं. १३ बडेरा घर भएका ७१ वर्षीया ढकाललाई विहिबार राती प्रहरीले घरबाटै पक्राउ गरेको हो। उनी विप्लव समूहका जिल्ला सदस्य समेत हुन्।
विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएपछि उनी तनहुँ र रुपन्देहीका विभिन्न स्थानमा भूमिगत भएर काम गर्दै आएका थिए। घर परिवारसँग भेट गर्न पुगेको बखत पक्राउ परेका ढकाललाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।
उनीमाथि सार्वजनिक सवारीसाधनमा आगो लगाएको अभियोग छ। सोही मुद्दामा कारबाही प्रकृया अघि बढाईएको प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले बताए। प्रहरीले यसअघि ८ जनालाई पक्राउ गरिसकेको छ।
जसमध्ये ६ जना पार्टी गतिविधिमा संलग्न नहुने विज्ञप्ति निकालेर धरौटीमा छुटेका छन्। जिल्ला सेक्रेटरी सुमन ज्ञवाली र विद्यार्थी संगठनकी जिल्ला अध्यक्ष शारदा भण्डारीसहित ३ जना कारागारमा थुनामा छन्।
भूमिगत बनेका जिल्ला ईन्चार्जसहित ६ जना बढी कार्यकर्तामाथि प्रहरीले निगरानीसंगै खोजी कार्य गरिरहेको बताएको छ।