धरहरा क्षेत्रमा पर्ने परम्परागत उपाकु मार्ग खोलिने भएको छ। बुधबार बिहान स्थानीय जनप्रतिनिधि, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रतिनिधि एवं धरहरा निर्माण गरिरहेको कम्पनीका प्रतिनिधिसहितको छलफलमा उक्त समझदारी भएको पुनर्निर्माण प्राधिकरणले जनाएको छ।
सोही समझदारीअनुसार यस वर्षका लागि अस्थायी मार्ग निर्माण सुरू भइसकेको प्राधिकरणले जानकारी दिएको छ। उक्त मार्ग पुरानो धरहरा र अब बन्ने नयाँ धरहराका बीचमा रहनेछ। उपाकु हिँड्ने मानिसहरू तेबहालबाट छिरेर भोटेबहाल जाने बाटोतिर निस्कन सक्नेछन्।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका बरिष्ठ विज्ञ राजुमान मानन्धरका अनुसार भदौ २१ गतेसम्म अस्थायी मार्ग तयार हुनेछ।
'उपाकु मार्गका लागि पुरानो धरहरा र नयाँ बनिरहेको धरहराका बीचमा करिब १० फिट बाटो छाडेका छौं। यस वर्षका लागि यहाँ अस्थायी मार्ग बनाइनेछ र पछि यहीँ स्थायी उपाकु हिँड्ने बाटो हुनेछ।'
उपाकु हिँड्ने मानिसहरू बत्ती बाल्दै खाली खुट्टा हिँड्ने भएकाले बाटो सम्याएर हिँड्न मिल्ने बनाउने सहमति भएको पनि उनले जानकारी दिए। नेवारी समुदायमा इन्द्रजात्राका बेला भाद्र शुक्ल द्वादशीका दिन हातमा दियो बालेर उपाकु हिँड्ने चलन छ। यस वर्ष भदौ २४ गते उपाकु परेको छ।
त्यसैगरी, खिचापोखरी–मचाढोका–तेबहाल हुँदै टुँडिखेल निस्कन अस्थायी पैदल मार्ग खोल्ने कार्य अघि बढेको पनि प्राधिकरणले जनाएको छ। सञ्चय कोष र साविकको गोश्वारा हुलाकका बीचमा ८ फुटे अस्थायी पैदल मार्ग हुने र पछि यहीँ स्थायी सडक बन्ने प्राधिकरणको भनाइ छ।