नेपाली सेनाको ट्रकले ठक्कर दिँदा बिहीबार राति एक मोटरसाइकल चालकको मृत्यु भएको छ।
त्रिपुरेश्वर–सुन्धारा सडकखण्डमा बा१ग २४५६ नम्बरको सेनाको ट्रकले बा८६प ७५० नम्बरको मोटरसाइकललाई साँझ ७ बजे ठक्कर दिएको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मृत्यु हुनेमा अर्घाखाँची मालारानी गाउँपालिका ९ का ३५ वर्षीय लेखबहादुर पुन मगर छन्।
एउटै दिशामा गुडिरहेको सेनाको ट्रकले मोटरसाइकललाई ठक्कर दिएको महाशाखाका प्रवक्ता प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले बताए।
विष्टका अनुसार ट्रकको ठक्करले गम्भीर घाइते भएका पुनको उपचारको क्रममा ट्रमा सेन्टरमा राति ८ बजे मृत्यु भएको थियो। सेनाको ट्रकलाई महाशाखाले नियन्त्रणमा लिएको छ। चालक जीवन अधिकारीलाई सवारी ज्यानमुद्दामा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त जनसेवामा पठाइएको विष्टले बताए।