बाजुरामा विगत सात वर्षदेखि सञ्चालन हुँदै आएको सामुदायिक रेडियो पौरखी ९०.४ मेगाहर्जमा रेडियो सञ्चालक समितिले तालाबन्दी गरेको छ।
सहकारीमार्फत सञ्चालन हुँदै आएको रेडियो सञ्चालन भइरहेका बेला समितिका अध्यक्ष रामचन्द्र यादव र सहसचिव सुरेन्द्र नाथले कर्मचारीलाई कुनै जानकारी नै नगराई बन्द गरेका हुन्।
शुक्रबार अपरान्ह ४ बजे अध्यक्ष र सहसचिवले कर्मचारीलाई दबाब दिँदै रेडियो बन्द गर्न लगाएको राजेन्द्र रोकायाले जानकारी दिए। अध्यक्ष र सहसचिवले ‘तिमीहरु काम गर्न सक्दैनौं’ अनिश्चितकालसम्मका लागि तालाबन्दी गर्छौं’ भन्दै रेडियोमा ताला लगाएको उनले बताए।
रेडियो सञ्चालक समितिका अध्यक्ष यादवले भने कर्मचारीले रेडियो नियमति सञ्चालन गर्न नसकेको र सञ्चालक समितिले भनेको नमानेकाले नयाँ कर्मचारी ल्याउने गरी बन्द गरिएको बताए।
कर्मचारीलाई बिना जानकारी एकाएक रेडियो बन्द गरेर हटाउन खोजेको भन्दै नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ। रेडियोमा नियमित काम गरिरहेका कर्मचारीलाई हटाउने नियतले रेडियो बन्द गर्नु गैरकानूनी भएको प्रेस युनियका सचिव प्रशान्तराज जोशीले बताए।