डेंगीका विरामी बढ्दै गएपछि प्रदेश नम्बर ५ सरकारले सक्रियता बढाएको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले शनिबार लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षण गर्दै डेंगी संक्रमित विरामीको अवस्थाबारे जानकारी लिएका हुन्।
रूपन्देहीमा ७० जनालाई डेंगी देखिएको छ। मन्त्री केसीले अस्पताल निरीक्षणपछि सामाजिक विकास मन्त्री सुदर्शन बराल र प्रेदशस्थित स्वास्थ्य निर्देशनलायका निर्देशक विनोद गिरीलाई फोन गरेर संक्रमितलाई ध्यान दिन र विरामीको उपचारको व्यवस्थापन प्रभावकारी बनाउन आग्रह गरेका छन्।
‘डेंगी संक्रमित विरामीका परिवारसँग भेटेर अस्पतालले दिइरहेको सेवा प्रभावकारी छ कि छैन सोधिखोजी गरेँ,’ मन्त्री केसीले भने, ‘अस्पतालमा विरामी बढेकोले शैया अभाव छ भन्ने गुनासो सुनेँ।’
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट कृष्ण खनालले शैया अभाव हुँदा प्रभावकारी उपचार गराउन नसकेको मन्त्री केसीलाई जानकारी गराएका थिए। ‘डेंगी परीक्षणलाई किट अभाव छैन,’ उनले भने, ‘शैया नभएकोले समस्या छ।’