दाङमा १५ जनामा डेंगीको संक्रमण देखिएको छ।
दाङका दस स्थानीय तहमध्ये हालसम्म तीन वटा स्थानीय तहमा मात्रै डेंगीका बिरामी भेटिएका हुन्।
घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकामा समान ६/६ जना र सबभन्दा पश्चिमको सुर्खेत र उत्तरमा सल्यानसँग सीमाना जोडिएको बबई गाउँपालिमा २ जना डेंगीका बिरामी हालसम्म फेला परेको जिल्ला स्वास्थ्य कार्यालय दाङका डेंगी रोग नियन्त्रणका फोकल पर्सन कमल चन्दले जानकारी दिए। चन्दका अनुसार एक जना बिरामीको भने ठेगाना खुल्न सकेको छैन।
यो वर्ष सबभन्दा पहिला घोराही उपमहानगरपालिका वडा नं. १८ रझेनाका स्थानीय २८ वर्षीय एक पुरुषमा डेंगीको संक्रमण भेटिएको थियो।
डेंगीका बिरामीमध्ये अधिकांश उपचारपछि घर फर्किसकेका छन्। ६ जना भने अझै उपचाररत छन्।
हाल १ जनाको काठमाडौंको टिचिङमा, छिमेकी देश भारतको लखनउमा १ जना, दाङको तुलसीपुरमा १ जना र बाँकी ३ जनाको घोराहीका विभिन्न अस्पतालमा उपचार भइरहेको फोकल पर्सन चन्दले जानकारी दिए।
पछिल्लो दुई हप्ताको अवधिमा डेंगीका बिरामी एकाएक बढ्दै जान थालेका चन्दले जानकारी दिए।
उनले डेंगीका बिरामी दिनानुदिन थपिदै जान थालेको हुँदा सावधानी अपनाउन आवश्यक रहेको बताए।
पछिल्लो पाँच वर्षयता दाङ डेंगीको जोखिममा रहँदै आएको छ।
डेंगी नियन्त्रणको अभियानमा स्थानीय सरकारले अहिलेसम्म उल्लेखनीय कुनै पनि क्रियाकलाप गरेका छैनन्।
डेंगी रोगबाट जोगिन सबै जिल्लावासीले आवश्यक सावधानी अपनाउनु सबभन्दा ठूलो बुद्धिमानी हुने फोकल पर्सन चन्दले बताए।
घरको आसपासमा प्लाष्टिक, टुटेफुटेका भाँडा वर्तन, टायर, बोत्तल, घरको ट्याङ्की जस्ता ठाउँमा जम्मा हुने सफा पानीमा डेंगी रोग सार्ने लामखुट्टेको घर भएको हुँदा त्यस्ता सामग्री हटाउन चन्दले आग्रह गरे ।