सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद हरिराज अधिकारीले गोरखाको फुजेललगायत गाउँमा बाँदर नियन्त्रण गर्न माग गरेका छन्।
बुधबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद अधिकारीले बाँदर आतंकले गर्दा मानिस घाइते भएको पनि बताए। ‘मेरो निर्वाचन क्षेत्र गोरखा १ का विभिन्न गाउँमा बाँदर आतंक छ। फुजेलमा मात्रै ३२ जना घाइते भए। उनीहरूको उपचारमा २०र२५ हजार रूपैंयाँदेखि दुई लाखसम्म लागेको छ,’ उनले भने।
सांसद अधिकारीले बाँदर नियन्त्रणका लागि सरकारले संरक्षण केन्द्र बनाउनुपर्ने माग गरेका छन्। ‘बाँदर संरक्षण केन्द्र बनाउनुपर्छ,’ उनले भने, ‘मानिसहरू घाइते भए। बालीनाली र फलफूल सखाप भयो।’
बूढीगण्डकी जलविद्युत प्रभावित क्षेत्र गोरखा आरूघाट, आर्खेत र धादिङतर्फ खहरे बजारको मुआब्जा निर्धारण गरी वितरण छिटो गर्न माग पनि उनले गरे। ‘धेरैपटक मुआब्जाको कुरा उठिसकेको छ तर तोकेर वितरण भने भएको छैन,’ उनले भने, ‘छिटो मुआब्जा वितरण गर्नुपर्यो।’