काठमाडौंको टोखामा बालमैत्री पार्क र सार्वजनिक शौचालय बन्ने भएको छ।
संघीय सरकार, काठमाडौं महानगरपालिका र टोखा नगरपालिकाको साझेदारीमा निर्माण हुन लागेको पार्क ६५ रोपनी क्षेत्रफलमा फैलिएको छ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले टोखा नगरपालिकास्थित झोरमा निर्माण हुन लागेको बालमैत्री पार्क तथा सार्वजनिक शौचालयको आज एक विशेष समारोहबीच शिलन्यास गरेका हुन्।
सो कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले सार्वजनिक जग्गाको उपयोग गर्दै निर्माण गर्ने थालिएको यस आयोजनाको सफलताको शुभकामना दिए।
उनले आयोजना निर्माण गर्दा स्थानीय तहले विशेष ध्यान पुर्याउनु पर्ने बताए। ‘भावी सन्ततीको अस्तित्वलाई बचाइ राख्नको लागि पनि सार्वजनिक जग्गाको संरक्षण र वृक्षरोपणलाई तीव्र पार्दै लैजानुपर्छ’उनले भने, ‘हरेक मानिसले कुनै विशेष अवसरमा वृक्षरोपण गर्ने बानीको विकास गर्नुपर्छ।’
वातावरणको संरक्षण गर्दै धुलोधुँवा र प्रदूषणलाई कम गर्न तर्फ सचेतना फैलाउनु पर्नेमा उनको जोड थियो।
सोही कार्यक्रममा बोल्दै चीनका राष्ट्रपति सि चिङ पिङको नेपाल भ्रमणका बेला केरुङ–काठमाडौं सुरुङमार्ग निर्माणको विषयमा सम्झौता गरिने बताए झोरबाटै सुरुङ खोलिने हुँदा यस क्षेत्रको विकासले फड्को मार्ने समेत उनले दाबी गरे।
उपप्रधानमन्त्री पोखरेलले विकास निर्माणका कामहरू समयमा सम्पन्न नहुनुमा सार्वजनिक खरिद ऐन बाधक रहेको उनले बताए।
विकासका योजनाहरूलाई गुणस्तरीय बनाउनका लागि प्रभावकारी अनुगमन अपरिहार्य रहेको उनले बताए।