धनुषा जिल्ला अदालतमा फौजदारी प्रकृतिका मुद्दाको चाप बढी देखिएको छ।
जिल्ला अदालत धनुषामा दर्ता हुने कुल मुद्दाको २० प्रतिशतभन्दा बढी मुद्दा फौजदारी प्रकृतिकै रहने गरेको तथ्यांकले देखाएको हो।
धनुषा जिल्ला अदालतमा अहिले तीन हजार ९ सय ४५ मुद्दा फर्छ्यौट हुन बाँकी छन्। अदालतमा रहेका कुल मुद्दाहरूमध्ये फौजदारी प्रकृतिका ८ सय ९७ वटा रहेका छन्।
दर्ता भएकामध्ये ३ सय ८९ वटा मुद्दाको फैसला भने यसै आर्थिक वर्षमा भएको छ। फौजदारीपछि देवानी मुद्दा बढी दर्ता हुने गरेका छन्। यसमा अधिकांश लेनदेन प्रकृतिका छन्। त्यस्ता मुद्दाको संख्या ८ सय एक रहेको अदालतले जनाएको छ।
कुल मुद्दा संख्याको २२.८ प्रतिशत फौजदारी प्रकृतिका रहेका छन् भने लेनदेन प्रकृतिका मुद्दाहरू २०.३ प्रतिशत छन्। चालु आर्थिक वर्षको साउन र भदौ महिनाको २४ गतेसम्ममा मात्रै ६ सय ४८ वटा मुद्दाहरू दर्ता भएका छन्।
जिल्ला अदालत धनुषामा मुद्दाहरुको चाप अत्यधिक रहेको श्रेष्तेदार यज्ञप्रसाद आचार्यले जानकारी दिए। नयाँ मुलुकी संहिता लागू भएपछि मुद्दाको चाप झनै बढेको उनले बताए। उनले भने, ‘मुलुकी ऐन २०२० लाई प्रतिस्थापन गर्दै आएको नयाँ मुलुकी संहिताका कारण जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालयलगायतबाट हुने विवाहदर्ता, मृत्युको न्यायिक घोषणा, संरक्षक सम्बन्धी पनि अदालतमै आउने गरेका छन्।’
मेलमिलापकर्ता, स्थानीय तहहरुमा न्यायिक समिति हुँदा पनि अदालतमा मुद्दाको चाप घट्न नसकेको श्रेष्तेदार आचार्यको भनाइ छ। उनले भने, ‘सानातिना विवाद मेलमलिापकै माध्यमले समाधान गराउनु पर्छ भन्ने चेतना अहिलेसम्म आम जनतामा आउन नसकेकोले ती मुद्दा अदालतमै आउने गरेका छन्।’